भारतको जम्मु–कश्मीरको मुख्यमन्त्रीमा एनसीपीका नेता उमर अब्दुल्लाहद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

छुट्टै राज्यको मान्यता दिलाउन पहल गर्ने प्रतिबद्धता
आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको जम्मु–कश्मीरको मुख्यमन्त्रीमा एनसीपीका नेता उमर अब्दुल्लाहद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरको मुख्यमन्त्रीमा नेशनल कन्फरेन्स पार्टी-एनसीपीका नेता उमर अब्दुल्लाहले पद तथा गोपनियताको शपथ लिनुभएको छ । केन्द्र शासित प्रदेश कश्मीरले आफ्नो विशेष दर्जा गुमाएपछि पहिलो पटक सरकार पाएको हो ।

लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले श्रीनगरको शेर-ए-कश्मिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मुख्यमन्त्रीमा एनसीपीका नेता उमर अब्दुल्लाहसहित उहाँको पार्टीका अन्य पाँच विधानसभा सदस्यलाई मन्त्रीको पद तथा गोपनियताको सपथ दिलाउनुभएको हो । अब्दुल्लाहलाई भारतीय कंग्रेस पार्टीले समर्थन गरे पनि सरकारमा भने सहभागी नहुने बताएको छ ।

विधानसभा चुनावमा एनसीपी र कंग्रेसको गठबन्धनले बहुमत प्राप्त गरेको थियो । त्यहाँ एनसीपीले ४२ सिट र कंग्रेसले ६ सिट जितेका छन् । मुख्यमन्त्रीको रुपमा सपथ लिनुअघि नेता अब्दुल्लाहले जम्मु र कश्मीर एक केन्द्र शासित प्रदेश हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको प्रतिबद्धताअनुसार जम्मु कश्मिरले पुनः राज्यको मान्यता पाउनेमा आशावादी रहेको बताउनुभयो । आफूले पनि राज्यको मान्यता दिलाउन उपयुक्त कदम चाल्ने उहाँले बताउनुभएको छ ।

सन् २०१९ को ५ अगस्टमा संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरको विशेष दर्जा हटाएर दुई केन्द्र शासित प्रदेश बनाइएको थियो । त्यसयता यी प्रदेशमा केन्द्रीय शासन लागु छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.