लेबनानबाट शान्ति सेनालाई नहटाउने संयुक्त राष्ट्रसंघको अडान

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानबाट शान्ति सेनालाई नहटाउने संयुक्त राष्ट्रसंघको अडान

काठमाडौं । संयुक्त राष्ट्रसंघले लेबनानबाट शान्ति सेनालाई नहटाउने स्पष्ट पारेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रसंघीय शान्ति सेना मिसन यूनीफीलका सैनिकहरुलाई फिर्ता बोलाउन बारम्बार आह्वान गरेपछि जवाफमा राष्ट्रसंघको यस्तो भनाइ आएको हो ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेना परिचालनका प्रमुख जीन पियरे ल्याक्रोइक्सले यूनीफीलले लेबनानबाट आफ्ना सेना फिर्ता नगर्ने स्पष्ट पार्नुभएको छ । यस निर्णयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद् र मिसनलाई आर्थिक सहयोग गर्ने देशहरूको पूर्ण समर्थन रहेको उहाँको भनाइ छ ।

त्यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शान्ति सेनामाथि कुनै क्षति नहोस् भन्ने चाहेको खण्डमा ती सैनिकलाई तत्काल फिर्ता बोलाउन आह्वान गर्नुभएको थियो । यूनीफीलका सैनिकहरू हिजबुल्लाह लडाकुहरुको ढालको रूपमा काम गरिरहेको आरोपसमेत उहाँले लगाउनुभएको थियो ।

इजरायली सेनाले लेबनानमा यूनीफीलको आधारशिविरलक्षित आक्रमण गरेको थियो जसमा केही सैनिक घाइते भएका थिए । शान्ति सेनालक्षित इजरायली आक्रमणको राष्ट्रसंघसहित यूनीफीलमा सम्मिलित राष्ट्रहरुले कडा शब्दमा निन्दा गरेका छन्।

यूनीफील शान्ति मिसन सन् १९७८ मा गठन भएको थियो । यो क्षेत्रमा छिमेकी देशहरू बीचको द्वन्द्व रोक्न र दक्षिणी लेबनानका मानिसहरूलाई मानवीय सहायता प्रदान गर्न यूनीफील गठन गरिएको थियो ।

हाल ५० देशका करिब १० हजार शान्ति सैनिक ८ सयभन्दा बढी कर्मचारीसँगै लेबनानमा तैनाथ छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.