यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार हपफिल्ड र हिंटनलाई

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार हपफिल्ड र हिंटनलाई

काठमाडौं । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकद्वय जोन जे हपफिल्ड र जेफ्री इ. हिन्टनलाई प्रदान गरिने भएको छ । रोयल स्वीडीस एकेडेमी अफ साइन्सेजले आज पुरस्कार घोषणा गरेको हो ।

कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि उक्त पुरस्कार वैज्ञानिकद्वयलाई दिइने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भौतिक शास्त्रतर्फ पुरस्कार पाउने हपफिल्ड अमेरिकास्थित प्रिन्स्टन विश्वविद्यालयका प्रोफेसर हुन् भने हिन्टन क्यानडाको टोरन्टो विश्वविद्यालयका प्रोफेसर हुन् । विश्वभरका भौतिकशास्त्रीहरूका लागि उक्त पुरस्कार सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ ।

नोबेल पुरस्कार विजेताहरूले करिब १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन् । चिकित्साशास्त्र तर्फको नोबेल भने अमेरिकाका भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनले प्राप्त गरेका छन् ।

माइक्रो आरएनए आविष्कार गरेको भन्दै उनीहरुलाई पुरस्कार प्रदान गरिएको नोबेल समितिले जनाएको थियो । बुधबार रसायन शास्त्र र बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा हुनेछ । त्यस्तै शुक्रबार नोबेल शान्ति पुरस्कार घोषणा गरिने छ भने अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १४ मा प्रदान गरिने बताइएको छ ।

पुरस्कार राशि पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको इच्छामा विज्ञान, साहित्य र शान्तिमा उपलब्धिहरूका लागि प्रदान गरिन्छ । एक विधामा अधिकतम् तीन जनासम्मलाई नोबेल पुरस्कार दिने गरिन्छ । पुरस्कारको राशि विजेता सबैलाई बराबरी बाँडेर दिइन्छ । नोबेल पुरस्कारको घोषणा सन् १९०१ मा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारबाट सुरु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement