च्याम्पियन कर्णाली

आश्विन २२, २०८१ |खेल ब्युरो
च्याम्पियन कर्णाली

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणका लागि जब कर्णाली यश्विजको टिम घोषणा भयो, सबैले भने ६ फ्रेन्चाइज मध्ये तुलनात्मक रुपमा कमजोर टोली । तर प्रतियोगिता सम्पन्न हुँदा उसको नामको अगाडि थपियो, च्याम्पियन कर्णाली । दुई महिनाअघि मात्र राष्ट्रिय टोलीमा डेब्यु गरेकी सुमित्रा रेग्मी नेतृत्वको कर्णाली यश्विजलाई अपराजित रहँदै विजेता बनाएका हुन् प्रशिक्षक कुमार राइले । 

एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण खेल्ने ६ फ्रेन्चाइज टोलीको मार्की सार्वजनिक हुँदा सुमित्रा कर्णाली यश्विजमा परिन् । त्यतिबेला सुमित्रा आफैंलाई विश्वास लागेन । गत साउनमा घरेलु मैदानमा भएको काभा महिला भलिबल नेशन्स लिगमा डेब्यु गरेकी सुमित्रा मार्की भएकोमा धेरैलाई आश्चर्य पनि लागेको थियो । तर उनै सुमित्राको नेतृत्वमा कर्णाली अपराजित रहँदै च्याम्पियन बन्यो । फाइनलमा कर्णालीले सलिना श्रेष्ठको ललितपुर क्विन्सलाई पाँच सेटमा हराएको हो । सलिना र सुमित्रा न्यु डाइमन्डका टिम मेट पनि पनि हुन् । र, कुमार राई न्यु डाइमन्डका प्रशिक्षक ।

कर्णालीको स्क्वाडमा, काभा नेशन्स लिग खेल्ने एकमात्र खेलाडी हुन् सुमित्रा । मिना सुनारसंग काभा अन्डर ट्वान्टी खेलेको अनुभव थियो । प्रशिक्षक कुमार राइसँग खेलाडी सब्सिच्युटमा पनि त्यति धेरै विकल्प थिएन । तर यो टिमले अनुबन्ध गरेका तीन विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । टर्कीकी आउट साइडर स्पाइकर जैनेप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नै बनिन् । महिला भलिवलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका कुमार राई टिम एकता नै सफलताको प्रमुख कारण मान्छन् ।

ग्रीसकी अपोजीट स्पाइकर एथान्सिया लियाकी र अमेरिकाकी सेटर गाबि्रएल बेन्डाको प्रदर्शन कर्णालीको जीतमा महत्वपूर्ण रह्यो । राष्ट्रिय टिमबाट खेल्दा सर्भिसमा कमजोर देखिएको सुमित्राको प्रदर्शन पनि फ्रेन्चाइज लिगसम्म आइपुग्दा सुधारिएको देखियो ।

पुनरागमनमा पनि शानदार देखिएको कर्णालीले लिग चरणमा मधेश युनाइटेड, ललितपुर , गन्डकी थन्डर्स, काठमान्डौ स्पाइकर्स र चितवन शक्तिको चुनौती समाप्त गरेको थियो । उपाधि जितेपछि प्रशिक्षक राइले भने-'अब पालो महिलाको' भन्ने मेरो नारा सफल भयो । 



Enter Kantipur TV HD
Advertisement