ललितपुरको खोकनामा यसरी मनाइयो सिकाली जात्रा

आश्विन २२, २०८१ |नारायण किलम्बू
ललितपुरको खोकनामा यसरी मनाइयो सिकाली जात्रा

काठमाडौं । ललितपुरको खोकनामा तान्त्रिक शक्तिको स्वरुप रुद्रायणी देवी अर्थात् सिकाली जात्रा आज मनाइएको छ । खोकनाका स्थानीयले रुद्रायणी देवीको शास्त्रीय नृत्यलाई टोलटोलमा परिक्रममा गरेर दशैंकै समयमा सिकाली जात्रा मनाउने गर्छन् ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन खोकनाको सिकाली चउरमा तान्त्रिक रुद्रायणी देवीको नाच गरी जात्रा मनाउने चलन छ । घटस्थापनाका दिनबाट प्रारम्भ हुने यो जात्राको मुख्य दिन षष्टी तिथी हो । परम्परागत पञ्चेबाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ । त्यसक्रममा देवगणको दायाँबायाँ एक-एक जना सहयोगी र अर्को हातमा खड्ग समाई नाच्ने गरिन्छ । यस वर्ष तान्त्रिक सिद्ध प्राप्ति नाचमा १७ देखि ८६ वर्षसम्मका देवगण संग्लन भए ।

खोकनाबासीले कुलदेवताका रुपमा मान्दै आएकी रुद्रायणीरुपी सिकाली जात्रामा त गुठी, सलाँ गुठी र ज गुठीको प्रत्यक्ष संलग्नता हुन्छ । रुद्रायणी देवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्य भाव देवी र महिषासुर दैत्यबीचको वध गरेको दृश्य प्रस्तुत गरिन्छ । जात्राको एक दिनअघि सिकाली चउरमा देवगण, नाइके बाद्यबादक भेला भइ तान्त्रिक विधिअनुसार यज्ञ गरिन्छ र त्यसलाई अश्वमेघ यज्ञको रुपमा लिइन्छ ।

देवगणको नाचपछि खुला चउरमा सामूहिक भोज खाने चलन छ । त्यसक्रममा सिकाली चउरमा आउनै सबैलाई प्रसादको रुपमा भोजसमेत खुवाउने परम्परा छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement