दशैंका बेला पनि ग्रामीण बजारमा छैन चहलपहल

आश्विन २२, २०८१ |सुदिल पोखरेल
दशैंका बेला पनि ग्रामीण बजारमा छैन चहलपहल

काठमाडौं । अहिले नयाँ बसेका शहरका बजारमा चहलपहल बढेको छ भने निकै चल्तिमा रहेका पुराना बजार भने दशैं लागे पनि सुनसान छन् । वर्षभरिमा वस्तु तथा सेवा उपभोगमा हुने खर्चमध्ये २० प्रतिशत रकम दशैं र तिहारमा मात्रै हुन्छ । यस्तो कारोबार शहरसँगै ग्रामीण क्षेत्रमा पनि हुनुपर्ने हो । तर बसाइसराइ तथा नयाँ राजमार्ग निर्माणका कारण नयाँ नयाँ शहरहरु विकसित हुँदा पुराना बजार सुनसान भएका हुन् । 

प्यूठानको मल्लरानी गाउँपालिकाको चुजाठाँटी बजारमा यतिबेला कुनै रौनक छैन । प्युठानको चुँजा, मुनडाँडा, कुडारा, अर्घाखाँचीको राजिमे, साम्नेगाउँ लगायत दर्जनभन्दा बढी बस्तीका उपभोक्ता फापर,सिमीलगायतका स्थानीय उत्पादनलिएर बजार झर्थे । तर अहिले चुजाठाँटी बजार सुनसान बनेको छ ।

दशैंमा मात्रै १३ लाखमानिस उपत्यका बाहिर जान्छन् । यस हिसाबले यो बेला ग्रामीण क्षेत्रका बजार चलायमान हुनुपर्ने हो । तर पछिल्ला वर्ष सहर केन्द्रित बसाइसराइ बढ्दा ग्रामीण क्षेत्रमा बजारमा आर्थिक गतिबिधि नै कमभएका हुन् । तर, बसाईसराईपछि बाक्लिएका तराई तथा पहाडी भूभागका तल्लो क्षेत्रका नयाँ हाट बजारमा भने चहलपहल बढेको छ ।

दशैका बेलाकिराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, पेय पदार्थ, मोवाइल, टेलिभिजन, कपडा धुने मेसिन र फ्रिज लगायत विद्युतीय उपकरणको किनबेच बढ्ने गर्छ । र, ग्रामीण क्षेत्रका उत्पादन, खसीबोका, खाद्यान्न र फलफूल तथा तरकारी शहरमा आउछ भने ग्रामीण क्षेत्रमै बस्तुको उपभोग बढ्नुपर्ने हो । तर बसाई सराईका कारण अवस्था फरक हुनथालेको छ ।

अहिलेको दशै तथा तिहारमा करिब ७खर्ब ५८ अर्ब बराबरको बस्तु उपभोग हुने आकलन गरिएको छ । ५७खर्ब अर्थतन्त्रमा निजी क्षेत्रको उपभोगको अंश ८४ दशमलव दुई प्रतिशतले छ । यसरी हुने उपभोगको करिब २० प्रतिशत चाडपर्वकै बेला हुने भएकाले ७खर्ब ५८ अर्बको हाराहारीमा बस्तुको उपभोग हुने देखिएको हो । तर यस्तो रकम ग्रामीण क्षेत्रमा जानुपर्नेमा बस्तुको उत्पादनमा भएको कमि, बढ्दो आयातीत बस्तुमा परनिर्भरता र शहर केन्द्रित बसाईसराईका कारण ग्रामीण क्षेत्रका बजार सुस्ताएका छन् ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement