राजनीतिमा महिला : सहभागिता छ, नेतृत्वमा पुग्न संघर्ष बाँकी

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 राजनीतिमा महिला : सहभागिता छ, नेतृत्वमा पुग्न संघर्ष बाँकी
काठमाडौं । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले नेपाली राजनीतिमा महिलाः उपलब्धि र चुनौती विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

यस प्रतिवेदन विगत एक दशकमा राजनीतिमा महिलाका लागि उपलब्ध अवसर र उनीहरूले सामना गरिरहेको चुनौतीमा केन्द्रित छ । यसैगरि २०७२ सालमा नेपालको संविधान जारी भएयता संवैधानिक तथा कानूनी प्रावधानका व्यावहारिक कार्यान्वयन र दलका विधान तथा घोषणापत्र कार्यान्वयनको समीक्षा पनि यस प्रतिवेदनमा गरिएको छ ।

संघ, तीन प्रदेश (मधेश, कर्णाली र गण्डकी) र छ स्थानीय तहका राजनीतिक दलका नेता, निर्वाचित जनप्रतिनिधि, निर्वाचनका उम्मेदवार, क्षमता अभिवृद्धि तालिम लिएका स्थानीय तहका जनप्रतिनिधि, विज्ञ तथा नागरिक समाजसँग अन्तर्वार्ता, छलफल र सर्वेक्षण गरेर यो प्रतिवेदन तयार पारिएको हो ।

कार्यक्रममा राजनीतिक दलका नेताहरुले राजनीतिमा महिलालाई निर्णायक तहमा सहभागिता गराउन आफूहरु चुकेको स्वीकार गरेका छन् । पुस्तक सार्वजनिक समारोहमा उपस्थित नेताहरुले महिला सहभागिताबारे संविधानले सुनिश्चित गरे पनि दलहरुले नै कार्यान्वयन गर्न नसकेको बताए । उनीहरुले संविधान असमावेशी भएकाले यसमा सबै दलका शीर्ष तहका नेता गम्भीर बन्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, अनेमसंघका महासचिव पेम्बा लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक अनुसन्धानात्मक पुस्तकमा स्पष्ट कानुनी व्यवस्था नहुँदा महिला सहभागिता पछिल्लो समय घट्दै गएको उल्लेख छ । वडा तहदेखि संघीय संसदसम्मको सहभागिता तथा राजनीतिक दलहरुमा महिलाको सहभागितालाई आधार बनाएर पुस्तक तयार गरिएको हो ।

यस अध्ययन फागुन २०८० देखि असार २०८१ का बीचमा गरिएको थियो ।  

यस अध्ययनको मुख्य निचोड यस्तो छ : 

१. महिला सहभागिताबारे स्पष्ट व्यवस्था भएका संवैधानिक तथा कानूनी प्रावधान कार्यान्वयन भएको पाइए पनि महिलालाई दोस्रो वरियता वा प्राथमिकतामा राखेको पाइयो । उदाहरणका लागि प्रतिनिधि सभामा उपसभामुख, राष्ट्रिय सभामा उपाध्यक्ष, प्रदेश सभामा उपसभामुख र स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष पद महिलालाई दिएको पाइयो ।

२. स्पष्ट कानूनी प्रावधान नभएको खण्डमा महिला सहभागिता घटेको छ । स्थानीय तहमा २०७४ को तुलनामा २०७९ मा दुई प्रमुख कार्यकारी पद (प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष) मा कुल महिला सहभागिता ८ प्रतिशतले घटेको छ । एक/एक पदमा मात्र उम्मेदवारी दिँदा कानूनी रूपमा महिला उम्मेदवार बनाउनै पर्ने बाध्यता नहुँदा गठबन्धनका नाममा दलहरूले पुरुषलाई नै प्राथमिकतामा राखेका थिए ।

३. राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुरुप सबै तहका कार्यसमितिमा एक तिहाइ महिला सहभागिता हुनुपर्ने प्रावधान दलहरूले पूर्ण रूपमा विधानमा समेटेका छैनन् । केन्द्रीय कार्यसमितिमा समेत एक तिहाइ महिला सहभागिता गराएको पाइएन । यस ऐनअनुरुप समिति गठन गरेको नपाइए निर्वाचन आयोगले कारवाही गर्न सक्ने भनिए पनि दलहरूलाई सचेत गराएको पाइएन ।

४. निर्वाचन घोषणापत्रमा राजनीतिमा महिला सहभागिताबारे आफैले गरेको वाचामा दलहरू गम्भीर पाइएनन् । त्यतिमात्र नभई दलले आफैले गरेको वाचाविपरीत काम गरेको पाइयो ।

५. सामाजिक-आर्थिक तथा सांस्कृतिक प्रतिकुलताका वावजुद संवैधानिक तथा कानूनी व्यवस्थाका कारण महिला नेतामा नेतृत्व तहमा पुग्ने आकङ्क्षा देखियो । त्यसका लागि उनीहरूले कानूनी संरक्षण नै सबैभन्दा उत्तम उपाय मानेका थिए । संवैधानिक तथा कानूनी प्रावधानबिना महिला सहभागिता सुनिश्चित हुनेमा अध्ययनका सबै सहभागीले आशङ्का व्यक्त गरे ।

६. महिलामाथि लगानीको कमी, अपारदर्शी उम्मेदवारी छनौट तथा मनोनयन, महिला नेताप्रति दलका नेता, कार्यकर्ता, कर्मचारीतन्त्र तथा आमजनताको स्वीकार्यमा कमी र हिंसा एवं उत्पीडन जस्ता चुनौतीसँगै संरचनागत अवरोध पनि कायमै रहेको पाइयो । तर, आफूले निर्वाह गरिरहेको पारिवारिक, सामाजिक र राजनीतिक सबै भूमिकामा अब्बल हुनुपर्ने दवाबमा महिला रहेको पाइयो ।

७. स्थानीय तहका हरेक वडामा दलित महिला सदस्यको व्यवस्थाले राजनीतिमा दलित महिलाको प्रतिनिधित्व बढेको पाइए पनि उनीहरू दलित महिला सदस्यमा मात्रै सीमित हुने जोखिम पनि देखियो । प्रत्यक्ष र अप्रत्यक्ष जातीय विभेदले निर्वाचनमा प्रचारप्रसार गर्न, पदीय जिम्मेवारी निर्वाह गर्नका साथै दलमा सक्रिय हुन उनीहरूले कठिनाइ सामना गरिरहेको पाइयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement