माल्दिभ्सका राष्ट्रपति दिल्ली प्रस्थान, तिक्ततापूर्ण सम्बन्ध सुधार हुने संकेत

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
माल्दिभ्सका राष्ट्रपति दिल्ली प्रस्थान, तिक्ततापूर्ण सम्बन्ध सुधार हुने संकेत

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जु भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको निमन्त्रणमा मुइज्जु दिल्लीतर्फ लाग्नु भएको हो ।

'इण्डिया आउट' अर्थात् भारतको बहिर्गमन भन्ने नाराका साथ गत वर्षको सेप्टेम्बरमा राष्ट्रपति पदमा निर्वाचित हुनु भएका मुइज्जुको पद सम्हालेयता भारतको यो पहिलो औपचारिक भ्रमण हो ।

यद्यपि गत जुनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दा मुइज्जु शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली पुग्नु भएको थियो । चीन पक्षधर मानिनुभएका मुइज्जुको सत्तारोहणयता माल्दिभ्स र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । खासगरी सरकारका मन्त्रीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध सामाजिक संजालमा अपमानजनक टिप्पणी गरेपछि सम्बन्ध चिसिएको थियो ।

मोदीले आफनो लक्षद्वीप यात्राको तस्विर सामाजिक स‌ंजालमा पोष्ट गरेपछि माल्दिभ्सका मन्त्र‍ीहरुले दुवै स्थानको तुलना गर्दै आपत्तिजनक टिप्पणी गरेका थिए । राष्ट्रपति बनेको केही समयमै मुइज्जुले चीन भ्रमण गर्नुभएको थियो । मुइज्जु राष्ट्रपति बनेपछि भारतलाई १० मे सम्म माल्दिभ्समा रहेका भारतीय सैनिक फिर्ता लैजान समयसीमासमेत दिइएको थियो । तर भारतले उक्त समयसीमाअगावै त्यहाँ रहेका आफ्ना सबै ९० सैनिक फिर्ता लगेको थियो ।

आफ्नो भारत भ्रमणका क्रममा राष्ट्रपति मुइज्जुले माल्दिभ्सलाई चरम आर्थिक संकटबाट उकास्न भारतसंग राहत प्याकेज बेलआउटकालागि आग्रह गर्न सक्ने बताइएको छ । गत सेप्टेम्बर महिनामा माल्दिभ्सको विदेशीमुद्रा सञ्चिति ४४ करोड डलर अर्थात ५९अर्ब ३१ करोड रुपियाँ मात्र थियो । सो रकमबाट माल्दिभ्सले जम्मा डेढ महिनाकालागि मात्र आयात गर्न सम्भव रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय संस्थाहरुले माल्दिभ्सको ऋण भुक्तानी क्षमता अर्थात क्रेडिट रेटिङ्ग खस्केको जनाइरहँदा भारतले आर्थिक सहयोग गरेको अवस्थामा माल्दिभ्सले देशलाइ टाट पल्टिनबाट जोगाउन सक्ने विश्लेषण गरिएको छ ।

भारतमा रहँदा मुइज्जुले राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य वरिष्ठ अधिकारीहरुसंग भेटनु हुनेछ । मुइज्जु राष्ट्रपति भएयता दुई देशबीच विदेशमन्त्रीस्तरीय भ्रमण भने भइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement