इजरायलको तेस्रो ठूलो सहर ‘हाइफा’मा हिजबुल्लाहद्वारा रकेट प्रहार

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलको तेस्रो ठूलो सहर ‘हाइफा’मा हिजबुल्लाहद्वारा रकेट प्रहार

काठमाडौं । इजरायलको तेस्रो ठूलो सहर ‘हाइफा’मा हिजबुल्लाहले गरेको रकेट प्रहारबाट १० जना घाइते भएका छन् ।

हिजबुल्लाहले हाइफाको दक्षिणी क्षेत्रमा इजरायली सैन्य केन्द्रलक्षित आक्रमण गरेको दाबी गरेको छ । इजरायली प्रहरीले केही भवनमा क्षति पुगेको र धेरैलाई सामान्य चोटपटक लागेको जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । हिजबुल्लाहको आक्रमणलगत्तै इजरायलले प्रतिरक्षा प्रणाली सक्रिय बनाएको थियो भने केही रकेटहरुलाई हावामै नष्ट पारिएको बताइएको छ ।

उता, इजरायली सेनाले गाजामा पनि हमास लक्षित गर्दै अस्पतालहरुमा भीषण आक्रमण गरेको छ । हमासले पनि इजरायलतर्फ चार वटा रकेट प्रहार गरेको छ ।

त्यस्तै इजरायलले गएराति लेबनानमा हिजबुल्लाहलक्षित अहिलेसम्मकै घातक आक्रमण गरेको छ । इजरायली लडाकु विमानले बेरुतमा हिजबुल्लाहको गुप्तचर मुख्यालय, खुफिया जानकारी संकलन गर्ने स्थान, कमाण्ड सेन्टर र अतिरिक्त पूर्वाधारहरुमा आक्रमण गरेको बताइएको छ । त्यस्तै लेबनानमा हिजबुल्लाहसँग आज भएको स्थल भिडन्तमा एक सैनिकको मृत्यु भएको छ भने दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनाका उत्तरी कमाण्ड प्रमुखहरुसँग भेटी लेबनानमा हिजबुल्लाहविरुद्धको कारबाहीबारे जानकारी लिनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement