पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बम विस्फोट हुँदा दुई चिनिया नागरिकको मृत्यु, अन्य १० जना घाइते

बलोच लिबरेशन आर्मी-बीएलएले विदेशी नागरिक लक्षित आक्रमण गरेको दाबी
आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बम विस्फोट हुँदा दुई चिनिया नागरिकको मृत्यु, अन्य १० जना घाइते

काठमाडौं । पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । विस्फोटमा अन्य १० जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीया न्यूजले जनाएको छ ।

विस्फोट के कारणले भएको हो भन्ने विषय अहिलेसम्म स्पष्ट हुने नसकेको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । विस्फोट आसपासका क्षेत्रमा समेत सुनिएको बताइएको छ । विस्फोटका कारण त्यहाँ रहेको केही पूर्वाधार र सवारी साधनहरूमा समेत अगालागी भएको छ। अधिकारीका अनुसार एक विदेशी घाइते भएका छन् । 

घटना हुना साथ आपतकालीन कार्यमा खटिने उद्धारकर्ताहरुले घाइतेलाई आगलागी भएको स्थानबाट निकालेको र नजिकैको जिन्नाह अस्पतालमा उपचारका लागि भर्ना गराएको बताइएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले आज एक विज्ञप्ति जारी गर्दै थुप्रै पाकिस्तानीको पनि मृत्यु हुन सक्ने आशंका व्यक्त गरेको छ । घटनामा कति जनाको मृत्यु भएको भन्ने यकिन तथ्यांक अहिलेसम्म आएको छैन् ।

सिंध प्रान्तका गृहमन्त्री जीया उल हसनले समेत उक्त विस्फोट विदेशी नागरिक लक्षित भएको बताउनुभएको छ । बीएलएले चिनियाँ नागरिक लक्षित आक्रमण गरेको जनाएको छ । पृथकतावादी उग्रवादी समूह बलोच लिबरेशन आर्मी-बीएलएले इन्जिनियरहरूसहित चिनियाँ नागरिकहरूलाई लक्षित गरी विस्फोट गराएको इमेलमार्फत् पत्रकारहरूलाई जानकारी गराइएको छ । 

बीएलएले पाकिस्तानको दक्षिणपश्चिममा रहेको अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको स्वतन्त्रताका लागि लडिरहेको छ । गत अगस्टदेखि बीएलएले प्रान्तमा आक्रमणहरू शुरू गरेको थियो । जसमा अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ । 

अरब सागरमा रहेको ग्वादरको रणनीतिक बन्दरगाहलाई बेइजिङले इस्लामाबादलाई प्रान्तको शोषण गर्न मद्दत गरेको आरोपमा बीएलएले चिनियाँलक्षित आक्रमण गरेको गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement