इजरायल-हमास युद्ध : एक वर्षमा के-के भयो ?

आश्विन २१, २०८१ |हरहरि उपाध्याय
इजरायल-हमास युद्ध : एक वर्षमा के-के भयो ?

इजरायल र प्यालेष्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुरा भएको छ । इजरायल-गाजा युद्ध दोस्रो वर्षमा प्रवेश गरिरहँदा युद्ध रोकिने लक्षण त परै जावोस् यो युद्ध लेबनान, इरान हुँदै मध्यपूर्वमै विस्तार हुने र तेस्रो विश्व युद्धको सूत्रधार बन्ने प्रष्ट लक्षण देखा परेको छ । यो युद्धको अन्त्य कसरी होला भन्ने प्रश्नको जवाफ अहिलेसम्म कसैसंग छैन । इजरायल-गाजा युद्ध वा इजरायल–हमास युद्ध जे नाम दिए पनि यो युद्ध प्रारम्भ हुनुको तात्कालीक मुख्य कारक भने हमास नै हो ।

कुनै उत्तेजक अवस्थाविना नै २०२३ को अक्टोबर ७ को बिहान हमासले गाजाबाट दक्षिणी इजरायलमा अचानक सयौं रकेट प्रहारमात्र गरेन, हमास लडाकूहरुले सीमा पार गर्दै ११ सय ३९ जनाको बर्बरतापूर्वक ज्यान लिए । मारिनेमा १० जना नेपाली विद्यार्थी पनि थिए । उनीहरुले बन्धक बनाएका २५१ मध्ये नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । इजरायली सुरक्षा संयन्त्र र गुप्तचर निकायलाई असफल पार्दै हमासले गरेको यो आक्रमण विध्वंसकारी युद्धको सुरुवात थियो ।

अर्को दिन नै इजरायलले हमासविरुद्ध युद्धको औपचारिक घोषणा गर्यो । त्यसयता यो एक वर्षमा इजरायली सेनाको हवाई र स्थल आक्रमणमा ४१ हजार ८ सयभन्दा बढी प्यालेष्टिनीले ज्यान गुमाइसकेका छन् जसमा आधाभन्दा बढी महिला र बालबालिका छन् । मारिनेमा १६ हजारभन्दा बढी बालबालिका छन् । ९७ हजारभन्दा बढी घाइते भएका छन् भने १० हजारभन्दा बढी वेपत्ता छन् । १ सय २८ जना त पत्रकार मारिए भने २ जना वेपत्ता छन् । ६९ पत्रकार पक्राउ परेका छन् । त्यस्तै एक हजार एक सय ५१ स्वास्थ्यकर्मी पनि मारिएका छन् ।

गत अक्टोबरदेखि जुनसम्ममा मात्रै इजरायलले गाजामा ७० हजार टनभन्दा बढी बम खसालेको यूरोपेली मानवअधिकारवादी संस्था यूरोमेड हृयुमन राइट्स मोनिटरले जनाएको छ । इजरायली सेनाले अतिक्रमित वेष्ट ब्यांकमा पनि कम्तिमा ७४२ जनाको ज्यान लिएको छ । यस्तै ७२८ इजरायली सैनिक पनि मारिएको तथ्यांक छ ।

इजरायली आक्रमणबाट २३ लाख बासिन्दा रहेको गाजाका करीब १९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । इजरायलले गरेको रकेट, क्षेप्यास्त्र र बम प्रहारबाट गाजा भग्नावशेषमा परिणत भएको छ । अस्पतालहरुसमेत क्षतविक्षत भएका छन् । यसबीच अमेरिका, बेलायत, जर्मनी र इटली लगायत पश्चिमा गठबन्धनका थुप्रै राष्ट्रहरुले लडाकु विमान, क्षेप्यास्त्र र बम आपूर्ति गरेर इजरायललाई युद्धका लागि प्रेरित गरिरहे । यद्यपि शरीरको कुनै एक अंगमा चोट पुरयाएर अर्को अंगमा मलम लगाएजस्तै गाजाका वासिन्दाका लागि उनीहरुले खाद्यान्न र औषधि लगायतका राहत सामग्री पनि पठाइरहे ।

पश्चिमा देशले इजरायललाई सैन्य सहयोग दिइरहँदा क्षेत्रीय शक्ति राष्ट्र इरानले पनि हमासलाई सहयोग गरिरह्यो । हमास मात्र होइन इरान समर्थित अन्य लडाकू समूहहरु लेबनानको हिजबुल्लाह समूह र यमनको हुथी विद्रोही समूहले पनि हमासको समर्थनमा समय समयमा इजरायलमाथि रकेट प्रहार गरिरहे ।

यो एक वर्षको अवधिमा इजरायलले हमासका राजनीतिक प्रमुख इस्माइल हनियेहलाई इरानको राजधानी तेहरानमा रकेट प्रहार गरेर मार्यो भने हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह बेरुतमा मारिए । हमासका अन्य थुप्रै वरिष्ठ कमाण्डरहरु पनि इजरायली आक्रमणमा मारिइसकेका छन् । हिजबुल्लाहका लडाकुले प्रयोग गर्ने पेजर र वाकीटाकी जस्ता ताररहित दुरसंचार यन्त्रमा एक साथ विस्फोट गराएर इजरायली गुप्तचर निकाय मोसादले आफनो जासुसी र प्राविधिक क्षमताको परिचय दियो । यतिले मात्र नभई इजरायलले लेबनानमा युद्धको अर्को मोर्चा खोलेको छ । हाल इजरायली स्थल सेना दक्षिणी लेबनानमा परिचालित छन् भने राजधानी बेरुतमा इजरायली सेनाले भिषण हवाई आक्रमण जारी राखेको छ जसबाट लेबनान अर्को गाजा बन्ने खतरा बढेको छ ।

उता हमास प्रमुख हनिया र हिजबुल्लाह प्रमुख नसरल्लाहको हत्याको प्रतिकारमा भन्दै इरानले यही अक्टोबर १ को रातमा इजरायलमाथि करीब २ सयवटा ब्यालिष्टिक क्षेप्यास्त्रको वर्षा गर्यो । इरानले इजरायलमाथि यो वर्ष गरेको यो दोस्रो आक्रमण थियो । यसअघि अप्रिलमा पनि इरानले इजरायललक्षित करीब तीन सय क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । हमासको उक्साहटमा शुरु भएको इजरायल–गाजा युद्ध लेबनानसम्म त विस्तार भैसकेको नै छ इरानसम्म पनि पुग्ने निश्चित छ ।

युद्ध अन्त्यको प्रयास नभएका पनि होइनन । नोभेम्बरमा कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा एक साताका लागि अस्थायी युद्धबिराम भयो । सम्झौताअन्तर्गत ७९ जना बन्धक रिहा भए । सोही मौकामा थाइल्याण्डले २३ रुसले २ र फिलिपिन्सले आफना १ जना नागरिकलाई मुक्त पनि गराए । तर त्यो महत्वपूर्ण समयमा हमास नियन्त्रणमा रहेका विपिन जोशीलाई रिहा गराउने कूटनीतिक पहल गर्नबाट नेपाल नराम्ररी चुक्यो । त्यसपछि पनि ८ बन्धकलाई इजरायली सेनाले मुक्त गराएको छ भने ४ जनालाई हमासले नै रिहा गरेको छ । हमासले बन्धक बनाएकामध्ये कम्तिमा ३७ जना मारिइसकेको र अझै ९७ जना उसको नियन्त्रणमा रहेको जनाइएको छ ।

युद्धविराम र बन्धक रिहाइका लागि विभिन्न चरणमा सम्झौता वार्ताहरु भए पनि सहमति जुट्न सकेको छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई सखाप पार्ने दृढताबाट पछि हटेका छैनन् भने दोस्रो विश्वयुद्धपछि विश्व शान्तिको लक्ष्यकासाथ स्थापना गरिएको संयुक्त राष्ट्रसंघ लाचारजस्तै देखिएको छ । राष्ट्रसंघ युद्धविरामको आहृवान गर्दागर्दा थाकिसकेको छ भने आतंककारीहरुको समर्थन गरेको आरोप लगाउँदै इजरायलले उल्टै राष्ट्रसंघका महासचिवलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । यस्तै दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेष्टिनी विरुद्ध नरसंहार गरिरहेको भन्दै अन्तरराष्ट्रिय न्यायालयमा दर्ता गराएको मुद्दा अझै विचाराधीन छ । यसप्रकारको युद्धले विश्वलाई एकातिर अशान्त बनाएको छ भने शक्ति राष्ट्रहरुलाई थप विभाजित र ध्रुवीकृत बनाएको छ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement