निरीक्षणका नाममा प्रभावित क्षेत्रमा नेताहरुको लर्को, काममा खटिनुपर्ने जनशक्ति स्वागतमै पछिपछि

आश्विन २२, २०८१ |रमेश धमला
निरीक्षणका नाममा प्रभावित क्षेत्रमा नेताहरुको लर्को, काममा खटिनुपर्ने जनशक्ति स्वागतमै पछिपछि

काठमाडौं । १० दिनअघि आएको बाढी र पहिरोले देशका धेरै ठाउँ तहसनहस हुँदा उद्धारमा सरकारी निकायको तदारुकता फितलो देखियो । खटिएका सुरक्षाकर्मी स्रोत साधन नपाएर भौंतारिएका थिए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गोदाममा थन्किएका रवरका ढुंगासमेत सुरक्षाकर्मीले पाएनन् । अहिले अवरुद्ध विभिन्न राजमार्ग खुलाउन सुरक्षाकर्मी खटिएका छन् ।

काम गरिरहेका संयन्त्रलाई स्रोत साधन दिन छाडेर मन्त्री, सांसद तथा राजनीतिक दलका नेताहरु भने जस लिने होडमा लागेका छन् । आज सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा सेनाले राख्न लागेको बेलिब्रिज हेर्न नेताहरु लर्को लागेर जानु त्यसैको उदाहरण हो ।

सिन्धुली र रामेछाप जोड्ने मुख्य मार्ग खुर्कोटको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध छ । बीपी राजमार्ग र पुष्पलाल राजमार्गको बीचमा पर्ने खुर्कोटस्थित सुनकोशी नदीको पुल भत्काएपछि नेपाली सेनाले आइतबारदेखि बेलिब्रिज जडानको काम गरिरहेको छ । सेनाले आफूसँग भएको स्रोत र जनशक्ति प्रयोग गरेर निर्माण गरिरहेको पुलको जस लिन नेताहरुको लर्को लागेको छ ।

काठमाडौंमै उद्धार गर्ने सुरक्षाकर्मीलाई रवरबोट उपलब्ध गराउन नसकेका गृहमन्त्री रमेश लेखक सेनाले बनाइरहेको बेलिब्रिज हेर्न पुग्नुभयो । मुख्य राजमार्गको आतजावत खुलाउन जति सक्दो छिटो काम सक्ने योजनामा रहेका सुरक्षाकर्मीलाई नेताकै लर्कोले अवरोध गर्‍यो । गृहमन्त्री लेखक मात्रै होइन, रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि सेनाकै हेलिकोप्टर प्रयोग गरेर खुर्कोट पुग्नुभयो ।

तीन जना मन्त्रीसँगै काभ्रेका एमाले सांसद गोकुल बास्कोटा, ललितपुरका नेपाली कांग्रेसका सांसद उदयसम्शेर राणा, सिन्धुपाल्चोकका कांग्रेस सांसद मोहन बस्नेत, कांग्रेसकै अर्का सांसद श्याम घिमिरे पनि सँगै पुग्नुभयो ।

सेनाको हेलिकोप्टर दुरुपयोग गर्दै लर्को लागेर पुगेपछि सुरक्षाकर्मीलाई कामभन्दा नेताहरुको खाने र बस्ने व्यवस्था मिलाउनै हैरानी भयो ।

जबकी गृह मन्त्रालय आफैंले ८ जिल्लाको क्षति अध्ययन र सिफारिसका लागि सहसचिवहरुको टोलीनै खटाएको थियो । विपद्मा स्रोत साधन दिन नसक्ने, अन्य संयन्त्रलाई निष्प्रभावी बनाएर राख्ने राजनीति नेतृत्व सुरक्षाकर्मीले गरिहेको कामबाट जस लिन पुगेको देखेपछि स्थानीयले पनि आलोचना गरेको सिन्धुलीका एक सुरक्षा अधिकृतले बताए ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement