इजरायलले आफ्नो देशमाथि आक्रमण गरे ठूलो आक्रमण गर्ने इरानी सर्वोच्च नेता खमेनीको चेतावनी

पश्चिमा मुलुकले मध्यपूर्वको तेल भण्डारणमाथि कब्जा जमाउन खोजेको आरोप
आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलले आफ्नो देशमाथि आक्रमण गरे ठूलो आक्रमण गर्ने इरानी सर्वोच्च नेता खमेनीको चेतावनी

काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इजरायलले आफ्नो मुलुकमाथि आक्रमण गर्ने ठूलो प्रत्याक्रमण गर्ने चेतावनी दिनु भएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै खमेनीले इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको जवाफमा इजरायलले हमला गरे आफूहरुले पुनः ठूलो आक्रमण गर्ने चेतावनी दिनुभएको हो ।

करिब पाँच वर्षपछि सार्वजनिक रुपमा देखा पर्नुभएका सर्वोच्च नेता खमेनीले विश्वभरका मुस्लिम समुदायलाई एकीकृत हुन र इस्लामको धार्मिक ग्रन्थ कुरानको बाटोमा हिड्न अपिल गर्नुभयो । अमेरिकालगायत पश्चिमा राष्ट्रले इजरायलको माध्यमबाट मध्यपूर्वको तेल भण्डारण र अन्य भौतिक सम्पदामाथि कब्जा जमाउने चाहेको समेत उहाँले आरोप लगाउनुभएको छ ।

यसकारण यो कुनै क्षेत्रको भन्दा पनि मानवताको लडाइ रहेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले जारी युद्धमा लेबनान र प्यालेस्टिाइनका नागरिकहरुको समर्थन गर्न अरब राष्ट्रहरुलाई समेत आग्रह गर्नुभएको छ ।

खमेनीले सम्बोधन गरिरहँदा इजरायली सेनाले हिजबुल्लाह नेताका नजिक रहेका कमाण्डर मोहम्मद रासीफ स्काफीलाई मारेको दाबी गरेको छ ।

इजरायली सेनाले लेबनानमा आफ्नो स्थलगत आक्रमण पनि जारी राखेको छ । त्यस्तै दक्षिणी लेबनानका ३० क्षेत्रका बासिन्दालाई अन्यत्र जान आदेश दिएको छ । उता हिजबुल्लाहले पहिलो पटक दक्षिणी इजरायलमा रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ । 

मध्यपूर्वको थपिएको युद्धका कारण त्यहाँका लाखौँ मानिस पलायन भइरहेका छन् । यसैबीच इजरायलले इरानको तेल भण्डारणमा आक्रमण गर्ने तयारी थालेको बताइएको छ । अमेरिकाले भने उक्त विषयमा अहिलेसम्म ग्रिन सिग्नल नदिएको ह्वाइट हाउसले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.