जापानको एक विमानस्थलमा अमेरिकाले दोस्रो विश्वयुद्धताका खसाएको बम विस्फोट

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जापानको एक विमानस्थलमा अमेरिकाले दोस्रो विश्वयुद्धताका खसाएको बम विस्फोट

काठमाडौं । जापानको दक्षिण पश्चिम क्षेत्रमा रहेको मियाजाकी क्षेत्रीय विमानस्थलमा दोस्रो विश्वयुद्धका बेला अमेरिकाले खसालेको बम विस्फोट भएको छ ।

करिब ७९ वर्षअघि अमेरिकाले खसालेको बम विमानस्थलको घावनमार्गमै गाडिएको अवस्थामा रहेको र अहिले विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

विस्फोटपछि विमानस्थलले ९० भन्दा बढी उडान रद्द गर्नुपरेको थियो भने धावनमार्ग बन्द गरिएको थियो । विस्फोटका बेला आसपास कुनै विमान थिएनन् । उक्त विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन ।

तर, गाडिएको अमेरिकी बम विस्फोट हुँदा विमानस्थलको ट्याक्सी वेमा सात मिटर चौडा र एक मिटर गहिरो खाल्डो बनेको बताइएको छ ।

जापानी यातायात मन्त्रालयका अधिकारीका अनुसार रनवेको छेउमा रहेको ट्याक्सी वेमा बम विस्फोट भएको हो ।

जापान ग्राउन्ड सेल्फ–डिफेन्स फोर्सको बम डिस्पोजल टोलीले विस्फोटको कारण अमेरिकी बम रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ । आत्मरक्षा बल र प्रहरीले प्रारम्भिक अनुसन्धानपछि विस्फोट भएको बम करिब पाँच सय पाउन्ड तौलको रहेको बीबीसीले जनाएको छ ।

उक्त विमानस्थल भने सन् १९४३ मा निर्माण भएको थियो ।

उक्त विमानस्थलमा दोस्रो विश्व युद्धयता अमेरिकाद्वारा खासालिएको तर विस्फोट नभएका बमहरु भेटिएको यातायात मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.