दक्षिणी लेबनानमा इजरायली हमला जारी

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी लेबनानमा इजरायली हमला जारी

काठमाडौं । इजरायली सेनाले लेबनानतर्फ स्थलगत कारबाहीसँगै हवाई आक्रमण जारी राखेको छ । इजरायलको युद्ध विमानले लेबनानको टायर, बिन्ट, जेबिल लगायतका जिल्लाहरुमा बम खसालेको हो ।

आक्रमणमा १५ जना हिजबुल्लाह सदस्य मारिएको इजरायली सेनाको दाबी छ । इजरायली सेनाले हिजबुल्लाहको करिब दुई सय ठेगानालक्षित आक्रमण गर्नुका साथै हतियार भण्डारण ध्वस्त पारेको दाबी गरेको छ ।

हिजो २ सय ४० वटा रकेट प्रहार गरेको हिजबुल्लाहले आज २५ वटा रकेट उत्तरी इजरायलतर्फ प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।

इजरायली सेनाले आक्रमण जारी राख्ने भन्दै दक्षिणी लेबनानका थप २५ गाउँका बासिन्दालाई अर्को सूचना नआएसम्म उत्तर तर्फ जान आदेश जारी गरेको छ ।

यता, इजरायली सेनालाई लेबनानको फतिमा सीमा प्रवेश गर्ने क्रममा हिजबुल्लाह लडाकुहरुले रोकेको र मुठभेड जारी राखेको छ । यस विषयमा भने इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन । लगातारको इजरायली आक्रमणका कारण लेबनान छाड्नेको संख्या १२ लाख पुगेको जनाइएको छ ।

यसैबीच, इजरायलले तीन महिनाअगाडिको कारबाहीमा हमासका तीन प्रमुखलाई मारेको आज दाबी गरेको छ । मारिनेमा हमास सरकारका प्रमुख रह्वी मुस्तफा, हमासको सुरक्षा निकाय प्रमुख सामेह–अल–सिराज, सामी औयदेह रहेको बताइएको छ । हमासले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले एक साथ गाजा, यमन, सिरिया र लेबनानलक्षित आक्रमण गरिरहेको छ । सिरियामा गरेको कारबाहीमा तीन जनाको मृत्यु भएको छ । जसमा हिजबुल्लाह प्रमुख हसन नसरुल्लाहका ज्वाइँ हसन जाफर–अल–कासिर मारिएको बताइएको छ ।

इजरायली सेनाको लगातार इरान समर्थित समूहमाथिको आक्रमणपछि इरान पनि युद्धमा जोडिएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले कतारका विदेशमन्त्री फैजल विन फरहान र हमासका प्रतिनिधिहरुसँग दोहामा अर्थपूर्ण भेटवार्ता गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.