मेक्सिकोको चियापासमा गुडिरहेको गाडीमा सैनिकले गोली चलाउँदा ६ जना आप्रवासीको मृत्यु, १० जना घाइते

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेक्सिकोको चियापासमा गुडिरहेको गाडीमा सैनिकले गोली चलाउँदा ६ जना आप्रवासीको मृत्यु, १० जना घाइते

काठमाडौं । मेक्सिकोको दक्षिणी भाग चियापास राज्यमा यात्रा गरिरहेका ३३ जनाको समूह बोकेको एक गाडीमा सैनिकले गोली चलाउँदा ६ जना आप्रवासीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घटनामा थप १० जना आप्रवासी घाइते भएका छन् ।

मेक्सिकोको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार गाडीमा इजिप्ट, नेपाल, क्युवा, भारत र पाकिस्तानबाट आएका मानिसहरु सवार थिए। मन्त्रालयले मृत्यु हुनेहरूको पहिचान भने खुलाएको छैन ।

सेनाको गोली लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १२ घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । त्यस्तै ३३ मध्ये बाँकी १७ यात्रुलाई सैनिकले अध्यागमन अधिकारीलाई बुझाइएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयले उत्तरी क्षेत्र ग्वाटेमालासँग जोडिएको सीमा नजिक सैनिकले गोली चलाउँदा ६ आप्रवासीको मृत्यु भएको जानकारी दिएको छ ।

ग्वाटेमाला सीमा नजिक आप्रवासीहरूको पिक–अप गाडीलाई तीव्र गतिमा यात्रा गरिरहेको देखेपछिसैन्य गस्तीले चेक पोस्टमा रोक्न खोज्दा असफल भएपछि गोली चलाएको बताइएको छ । मेक्सिकोले अमेरिकाको सीमामा पुग्ने आप्रवासीहरूको संख्यालाई रोक्न अमेरिकी दबाबमा छ। मेक्सिको हुँदै हजारौं आप्रवासीहरू प्रत्येक वर्ष अमेरिका प्रवेश गर्ने प्रयास गर्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.