मध्यपूर्वमा पूर्ण युद्धको खतरा छैन : अमेरिकी राष्ट्रपति बाइडन

इजरायललाई भने पूर्ण समर्थन रहने प्रतिबद्धता
आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मध्यपूर्वमा पूर्ण युद्धको खतरा छैन : अमेरिकी राष्ट्रपति बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले मध्यपूर्वमा 'पूर्ण युद्ध'को खतरा नरहेको विश्वास व्यक्त गर्नुभएको छ ।

वाशिङटनमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै बाइडनले मध्यपूर्वमा जारी द्वन्द्वका कारण पूर्ण युद्ध नहुने र यसलाई आफूहरुले रोक्न सक्ने विश्वास व्यक्त गर्नुभएको रोयटर्सले जनाएको छ । तर, युद्ध भड्कन नदिन थुप्रै कार्य बाँकी रहेको उहाँको भनाइ छ । इजरायललाई भने अमेरिकाको पूर्ण समर्थन रहने उहाँले बताउनुभयो ।

इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको जारी द्वन्द्वले अमेरिका र इरान पनि मध्यपूर्वी युद्धमा जोडिन सक्ने भय सिर्जना भइरँहदा बाइडनले त्यस क्षेत्रमा पूर्ण युद्धको खतरा नरहेको स्पष्ट पार्नुभएको छ । इजरायलले युद्धग्रस्त क्षेत्रबाट नागरिकलाई अन्यत्र जान पुन आदेश जारी गरेको छ । त्यस्तै स्थलगत कारबाहीका क्रममा पनि दुवै पक्षबीच भिडन्त जारी छ ।

इजरायली सेना र हिजबुल्लाहबीचको जारी द्वन्द्वले मध्यपूर्वमा थप युद्ध चर्किने संकेतपछि विश्वका सबैजसो देशले आफ्ना नागरिकलाई विमान पठाएर उद्धार थालेका छन् । त्यस्तै कतिपय नागरिकहरु भने आफैं युद्ध ग्रस्त क्षेत्रबाट पलायन भइरहेका छन् ।

यसैबीच, इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण गर्ने घोषणा गरेपछि इरानले पनि गत मंगलबार हिजबुल्लाहको समर्थनमा र क्षेत्रीय सुरक्षाका लागि इजरायलतर्फ १ सय ८० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणको इरानले मूल्य चुकाउनु पर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको थियो ।

ब्यालेस्टिक मिसाइल आक्रमणको जवाफमा इजरायली सेनाले इरानको तेल डिपोमा केही दिनभित्रै आक्रमण गर्न सक्ने अमेरिकी अधिकारीहरुले चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै इजरायलले इरानमा आणविक केन्द्र लक्षित आक्रमणको पनि तयारी थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलको उक्त कदमले मध्यपूर्वमा युद्ध थप भड्किन सक्ने भन्दै अमेरिकाले उक्त विषयलाई स्वीकृति भने नदिएको गार्जियनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.