ताइवानमा आँधीका कारण विद्युत सर्ट हुँदा अस्पतालमा आगलागी, ९ जनाको मृत्यु

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
ताइवानमा आँधीका कारण विद्युत सर्ट हुँदा अस्पतालमा आगलागी, ९ जनाको मृत्यु

काठमाडौं । ताइवानको एक अस्पतालमा विद्युत् सर्ट हुँदा भएको आगलागीमा ९ जनाको मृत्यु भएको छ । पिङटुङस्थित दक्षिणी भागमा रहेको अस्पतालमा विद्युत् सर्ट भएको हो ।

अस्पतालमा रहेका १ सय ७६ जना बिरामीको भने उद्दार गरिएको रोयटर्सले जनाएको छ ।

विनाशकारी आँधी क्रथनका कारण विद्युत् सर्ट भएको बताइएको छ । राज्य सरकारले अस्पतालका कर्मचारीको उद्धारका लागि सेनालाई खटाएको छ भने आगो नियन्त्रणमा ल्याउन वारुण यन्त्रको व्यवस्था गरिएको छ ।

बाक्लो धुँवाबाट निसासिएर बिरामीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले क्रथन आँधीको चपेटामा परेका बिरामीलाई अन्य अस्पतालमा सारिरहेका बेला विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

आँधी क्रथन मुख्य बन्दरगाह सहर काओसिङमा भने कमजोर हुँदै गएको त्यहाँका अधिकारीहरुले बताएका छन् । तर, भारी वर्षा र हावाहुरी जारी रहेकाले सरकारले सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेको छ । ताइवानको दक्षिणी भागमा भने आँधीको त्रास यथावत छ । आँधीले त्यहाँको जनजीवन प्रभावित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.