सिंगापुरमा पूर्वयातायातमन्त्री सुब्रमन्यम ईश्वरनलाई १२ महिनाको कैद सजायको फैसला

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिंगापुरमा पूर्वयातायातमन्त्री सुब्रमन्यम ईश्वरनलाई १२ महिनाको कैद सजायको फैसला

काठमाडौं । सिंगापुरको एक अदालतले त्यहाँका पूर्वयातायातमन्त्री सुब्रमन्यम ईश्वरनलाई १२ महिनाको कैद सजायको फैसला सुनाएको छ ।

पूर्वयातायातमन्त्री ईश्वरनले न्यायमा बाधा पुर्याएको र करडोभन्दा बढी मूल्यको उपहार प्राप्त गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले आज जेल सजाय तोकेको रोयटर्सले जनाएको छ ।

१३ वर्षसम्म मन्त्री रहनु भएका ईश्वरनलाई ३५ मध्ये चारवटा आरोपमा दोषी ठहर गर्दै अदालतले १२ महिनाको जेल सजाय तोकेको हो । ईश्वरनलेसमेत पदमा रहँदा करोडभन्दा बढी मूल्यको उपहार लिएको स्वीकार गर्नुभएको छ । अदालतले ६२ वर्षीय ईश्वरनलाई आगामी केही दिन जमानतमा रहन र अगामी सोमबार अर्थात् ७ अक्टोबरदेखि जेल सजाय सुरु गर्ने आदेश दिएको हो ।

उहाँलाई सिंगापुरको चाँगी कारागारमा राख्ने बताइएको छ । ईश्वरन सन् २००६ मा मन्त्रिपरिषद्मा सामेल हुनुभएको थियो भने विगतमा व्यापार, सञ्चार र यातायात मन्त्रालयको जिम्मेवारी समेत उहाँले सम्हाल्नुभएको थियो । स्वच्छ शासन, राम्रो तलब र दक्ष कर्मचारीतन्त्रका साथै बलियो शासनमा गर्व गर्ने राज्यका क्याविनेट मन्त्री दोषी ठहर हुनु पहिलो घटना भएको बताइएको छ।

त्यस्तै सिंगापुरमा कुनै पनि राजनीतिक व्यक्तित्वमाथि अदालते सुनुवाइ गर्दै सजाय तोकेको पछिल्लो ५० वर्षमा पहिलो हो । यसअघि सन् १९७५ मा राज्यका वातावरणमन्त्री वी टुन बुनलाई रकम हिनामिना गरेको आरोपमा १८ महिनाको जेल सजाय तोकिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.