दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहका लडाकूबीच भिडन्त जारी

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहका लडाकूबीच भिडन्त जारी

काठमाडौं । लेबनानको इरानसमर्थित शिया इस्लामिक राजनीतिक दल तथा अर्धसैन्य समूह हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सेना र आफ्ना लडाकूबीच ठाउँ–ठाउँमा भिडन्त भइरहेको जनाएको छ ।

इजरायलले दक्षिणी लेबनानमा स्थल आक्रमण शुरु गरेयता इजरायली सेना र हिजबुल्लाह लडाकूबीच पहिलो पटक भिडन्त भएको रोयटर्सले जनाएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा थप सेना परिचालन गरेको जनाएको केही घण्टापछि नै भिडन्तका समाचार आएका हुन् । 

इरानले इजरायलमाथि मंगलबार राति करिब दुई सय बलिष्टिक क्षेप्यास्त्रले व्यापक आक्रमण गरेको भोलिपल्टै इजरायलले हिजबुल्लाहमाथि दबाब बढाएको हो । इरानले इजरायलबाट अर्को भडकाउवादी क्रियाकलाप नभएसम्मका लागि आक्रमण सकिएको जनाए पनि इजरायलले भने जवाफी आक्रमण गर्ने दृढता व्यक्त गरेको छ । 

 यता, हिजबुल्लाहसँगको भिडन्तमा आफ्ना एक जना टिम कमाण्डरको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । हिजबुल्लाहले दक्षिणी लेबनानको सीमावर्ती शहर मरुन एल रासमा इजरायली सेनासँग भिडन्त भइरहेको र अर्को एक सीमावर्ती सहरमा इजरायली सेनालाई पछाडि धकेलेको जनाएको छ । 

इजरायलले भने दक्षिणी लेबनानको चार सयमिटर भित्रसम्म आफ्नो सेना प्रवेश गरेको दाबी गरेको छ । यसअघि इजरायली सेनाले दक्षिणी लेबनानका दुई दर्जन गाउँका बासिन्दालाई ती क्षेत्र खाली गर्न चेतावनी दिएको थियो ।

यसैबीच, इजरायलले इरानी क्षेप्यास्त्र आक्रमणको स्पष्ट रुपमा भर्त्सना नगरेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले गुटेरेस इजरायल विरोधी भएको र आतंककारीहरुलाई समर्थन गरिरहेको लगायतका कडा आरोप लगाएका छन् । महासचिव गुटेरेसले हिजो मध्यपूर्वको द्वन्द्व विस्तार भइरहेको भन्दै त्यसको भर्त्सना गर्नुका साथै युद्धविरामका लागि आह्वान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.