काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले क्षेप्यास्त्र प्रहारको इरानले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । गएराति इरानले इजरायललक्षित १ सय ८० भन्दा बढि ब्लालेस्टिक मिसाइल प्रहार गरेपछि नेतन्याहूले इजरायली वायू सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताउनुभएको हो।
गएराति इरानको आक्रमण पछि मन्त्रीपरिषद बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो शत्रुविरुद्ध बदला लिन कटिबद्ध रहेको भन्दै इरानलाई चेतावनी दिनुभएको हो। त्यस्तै इजरायल डिफेन्स फोर्स-आईडीएफका प्रवक्ता डयानियल हगारीले आज मध्यपूर्वमा इजरायली वायू सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताउनुभएको छ ।
इरानले इजरायललक्षित ब्यालेस्टिक मिसाइल प्रहार गर्ने संकेत अमेरिकाले दिएको केहि बेरमै इरानले आक्रमण थालेको बताइएको छ । गएराति इरानले इजरायललक्षित १ सय ८० भन्दा धेरै ब्लालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
त्यसमध्ये इजरायली सेनाको प्रतिरक्षा प्रणालीले थुप्रै मिसाइल ध्वस्त पारेको छ । उक्त आक्रमणमा कुनै हताहत नभएको बताइएको छ । इजरायलको बचाउमा अमेरिकी र बेलायती सैन्य बलले सहयोग गरेको छ ।
हमालपछि अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई पूर्ण रुपमा अमेरिकाको समर्थन रहेको बताउनुभएको छ । त्यस्तै उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी सेनाले इजरायललाई गरेको सहयोगलाई सही भन्दै इरान मध्यपूर्वमा अस्थिरता निम्त्याउने शक्ति भएको टिप्पणी गर्नुभएको छ ।
इजरायलले इरान समर्थित हिजबुल्लाह समूह लक्षित लेबनानमा प्रवेशस्थल कारवाही, हमास प्रमुख इस्माइल हानिया र हिजबुल्लाह प्रमुह हसन नसरुल्लाहको मृत्युको बदला लिएको इरानले स्पष्ट पारेको छ । त्यस्तै इरानका राष्ट्रपति मसुद पेजेश्कियानले हमलाको बचाव गर्दै बैध अधिकारलाई मध्यपूर्व क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न निर्णायक जवाफ दिएको बताउनुभएको छ ।
त्यस्तै इरानका आर्म फोर्स प्रमुख मोहम्मद बघेरीले यो पहिलो चरणको आक्रमण भएको र यदि इजरायलले प्रतिकार गरे उसले योभन्दा पनि ठूलो आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । हिजोको आक्रमणपछि मध्यपूर्व थप तनाव ग्रस्त बनेको बताइएको छ । उता लेबनानमा भने इजरायली सेनाको आक्रमण जारी छ ।