काठमाडौं । इरान समर्थितसमूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको घुसपैठलाई असफल बनाएको दाबी गरेको छ ।
हिजबुल्लाहले आज बिहान इजरायली सेनासँग झडप भएको दाबी गरेको बीबीसीले जनाएको छ । इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका बेला दुवै समूहबीच झडप भएको बताइएको छ ।
हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाको स्थल गस्तीको सामना गरेको र सेनालाई क्षति पुर्याउनुका साथै इजरायली सेनालाई पछि हट्न बाध्य पारे जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इजरायलले अहिलेसम्म हिजबुल्लाहका यी दावीहरूको प्रतिक्रिया दिएको छैन् । तर, इजरायली सेनाले स्थल कारवाहीका लागि थप सेना परिचालन गरेको जनाएको छ ।
यसअघि इजरायल डिफेन्स फोर्स-आईडीएफले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो।
आईडीएफले आफूहरुले दक्षिणी लेबनानमा हिजबुल्लाह रहेको स्थानलाई लक्षित गर्ने र यो सैन्य कारबाही सीमित क्षेत्रमा हुने स्पष्ट पारेको थियो । त्यसका लागि इजरायली सेनाले २५ गाँउका लेबनानी नागरिकहरुलाई अन्यत्र जाने निर्देशन दिएको थियो ।
इजरायली सेनाले स्थल आक्रमण सुरु गरेपछि इरानले हिजबुल्लाहको समर्थनमा गएराति इजरायलतर्फ करिब १ सय ८० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । त्यस्तै जवाफमा इजरायली सेनाले लक्षिणी लेबनानमा आफ्नो हवाई आक्रमण जारी राखेको छ ।