हिजबुल्लाहविरुद्ध लेबनानमा इजरायलको स्थल आक्रमण जारी

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिजबुल्लाहविरुद्ध लेबनानमा इजरायलको स्थल आक्रमण जारी

काठमाडौं । इजरायलले हिजबुल्लाहविरुद्ध लेबनानमा स्थल आक्रमण सुरु गरेको छ । हिजबुल्लाहविरुद्ध सीमित स्थल कारबाहीको घोषणा गरेको इजरायली सेना आज लेबनान प्रवेश गरेको हो । हिजबुल्लाहले पनि उत्तरी इजरायलमा प्रत्याक्रमण सुरु गरेको जनाएको छ ।

इजरायली सेनाले हिजबुल्लाहको पूर्वाधारलक्षित कारबाही थालेको बीबीसीले जनाएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा गरिने स्थल कारबाहीमा ९८ औं डिभिजनका कमाण्डो प्याराट्रुपर तथा सशस्त्र सैनिकहरु सहभागी भएको जनाएको छ ।

बीबीसीका अनुसार इजरायली सेना र हिजबुल्लाहबीच प्रत्यक्ष भिडन्त भने अहिलेसम्म भएको छैन । कारबाही सुरु गर्नुअघि इजरायली सेनाले दक्षिणी लेबनानमा रहेका करिब २५ वटा गाँउका सर्वसाधारणलाई अन्यत्र जान निर्देशन दिएको थियो ।

हिजबुल्लाहले सर्वसाधारणलाई आफ्नो कवचको रुपमा प्रयोग गरिरहेको भन्दै इजरायली सेनाले अन्यत्र जाने निर्देशन दिएको हो । इजरायली सेनाले बेरुत, दाहिया र सिडोन नजिककैको क्षेत्र र प्यालेस्टिनी शरणार्थी शिविरमा हवाई आक्रमण जारी राखेको छ । यता हिजबुल्लाहले पनि तेल अबिबस्थित इजरायली गुप्तचर निकाय मोसादको मुख्यालयलक्षित रकेट आक्रमण गरेको छ ।

युद्ध भड्किएपछि त्यहाँबाट पलायन हुनेको संख्या १० लाख पुगेको लेबनान सरकारले जनाएको छ । त्यस्तै इजरायली सेनाले गाजा, यमन, सिरिया र लेबनानमा पनि एक साथ आक्रमण गरिरहेका छ । यसैबीच संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई युद्ध विराम गर्न र वार्तामा आउन आह्वान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement