काठमाडौं । जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इसिबा चयन हुनुभएको छ । संसद्को तल्लो सदनले शिगेरुलाई प्रधानमन्त्री चयन गरेको छ ।
प्रधानमन्त्री फुमियो किशिदासँगै उहाँको मन्त्रीपरिषद्ले राजीनामा दिएर मार्ग प्रशस्त गरेपछि सदनले आजै मतदान प्रक्रियाबाट शिगेरु इसिबालाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो ।
गत महिना किशिदाले लिबरल डेमोक्रेटिक-एलडीपीको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेपछि गत शुक्रबार भएको पार्टीको निर्वाचनले शिगेरु इसिबालाई अध्यक्षमा चयन गरेको थियो ।
संसद्को तल्लो सदनमा पार्टीको बहुमत रहेका कारण पार्टी अध्यक्ष बनेका शिगारु नै प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । तर, औपचारिक रुपमा सदनमा भएको मतदानले शिगारुलाई प्रधानमन्त्रीमा चयन गरेको हो ।
इसिबाले आजै आफ्नो मन्त्रिपरिषद्का सदस्यहरुको नाम सार्वजनिक गर्ने बताइएको छ । त्यसपछि जापानका सम्राटले इम्पेरियल प्यालेसमा आयोजित समारोहमा इशिबा र मन्त्रिपरिषद्का सदस्यहरुलाई औपचारिक रूपमा नियुक्त गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याले जनाएका छन् ।
इसिबाले सम्भवतः अक्टोबर ७ मा संसद् भंग गर्ने र संसदीय निर्वाचनमा जाने तयारी गर्नुभएको बताइएको छ । उहाँले संसदीय निर्वाचन समय अगावै अक्टोबर २७ मा गर्ने तयारी थाल्नुभएको रोयटर्सले जनाएको छ ।
६७ वर्षीय शिगारुले यसअघि रक्षामन्त्रीको जिम्मेवारी सम्हालनुभएको थियो ।