काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा आज प्राथमिक विद्यालयका बालबालिकाले भरिएको बस दुर्घटनापछि भीषण आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बालबालिका र शिक्षकहरुसहित २५ जनाको मृत्यु भएको हो । १६ बालबालिका र तीन शिक्षकलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आगलागीबाट बस पूर्णरुपमा जलेको छ । बस उत्तरी प्रान्त उथनी थानीबाट बालबालिका र शिक्षक लिएर फर्किँदै गर्दा दुर्घटना भएको हो ।
बसमा तीनदेखि १५ वर्षसम्मका बालबालिका रहेको जनाइएको छ । उद्धारकर्ताहरुका अनुसार बैंकक जाने क्रममा बसको टायर पड्किएपछि आगलागी भएको हो । घटनाको अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
घटनापछि थाइल्याण्डकी प्रधानमन्त्री पेतोङत्रान सिनावात्राले दुःख व्यक्त गर्दै घाइतेको उपचार खर्च राज्यले बेहोर्ने र मृतक बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिने बताउनुभएको छ ।