काठमाडौं । इजरायल र हमासबीच युद्ध सुरु भएको झन्डै एक वर्ष पुग्यो । विश्वले युद्धविरामको पहल गरे पनि दुवै पक्ष आ-आफ्नै अडानमा छन् । हमासलक्षित आक्रमण जारी रहेकै बेला इजरायलले हिजबुल्लाह समूहलक्षित भीषण आक्रमण थालेको छ । इजरायलको आक्रमण कसरी हमासबाट हिजबुल्लाहतर्फ सोझियो ? आखिर के कारणले मध्यपूर्वको स्थिति झन् तनावग्रस्त भइरहेको छ ?
गत वर्ष अक्टोबर ७ मा उत्तरी इजरायलमा एकाएक आक्रमण गरेर हमासले विश्वलाई नै स्तब्ध तुल्यायो । आक्रमणमा १२ सय इजरायली मारिए भने २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगे । त्यसको भोलिपल्टदेखि इजरायलले सुरु गरेको प्रत्याक्रमण आजसम्म जारी छ । इजरायलको कारबाहीमा अहिलेसम्म ४१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने लाखौँ घाइते भएका छन् । त्यस्तै गाजाबाट पलायन हुनेको संख्या पनि लाखौँ छ । युद्ध समाप्त गर्न अन्तर्राष्ट्रिय समूदायले निरन्तर पहल गरे पनि हमासविरुद्ध इजरायलको कारबाही जारी छ ।
हमासविरुद्ध इजरायली आक्रमण जारी रहेकै बेला लेबनानस्थित इरान समर्थित समूह हिजबुल्लाहले पनि बेला–बेलामा इजरायललक्षित आक्रमण गर्दै आएको थियो । इजरायली सेनाले पनि त्यसको जवाफ दिँदै आएको थियो । तर, हमासलाई कमजोर पारेसँगै इजरायली सेनाले पूर्ण रुपमा हिजबुल्लाहलक्षित आक्रमण थालेको छ । जसका कारण लेबनानमा पनि युद्धको त्रासदी सुरु भएको छ ।
हिजबुल्लाह उत्तरी इजरायलबाट नहटेसम्म र आफ्ना नागरिकलाई पुनः स्थापित नगरेसम्म इजरायलले आक्रमण जारी राख्ने बताएको छ । इजरायलले हिजबुल्लाह समूहलक्षित पेजर र वाकीटकी विस्फोट गरायो, जसमा ५२ मानिस मारिए भने हजारौँको संख्यामा घाइते भए । लगत्तै इजरायली सेनाले भीषण हवाई आक्रमण गरेको छ । आक्रमणमा ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । युद्ध थप भड्किने भन्दै लेबनानबाट लाखौँ मानिस पलायन हुँदैछन् । दोहोरो आक्रमण जारी नै छ ।
अमेरिका, बेलायत लगायत १२ पश्चिमा राष्ट्रले २१ दिने युद्ध विरामको प्रस्ताव अघि सारे पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना सेनालाई पूर्ण शक्तिका साथ लेबनानमा आक्रमण गर्न आदेश दिएका छन् । विदेशमन्त्री काट्जले पनि उत्तरी क्षेत्रमा युद्ध विराम नहुने स्पष्ट पारेका छन् । हिजबुल्लाहले समेत आफूहरु पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।
हमासको समर्थनमा हिजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण सुरु गरेको थियो । गाजा युद्धविराम नभएसम्म आफूहरुले हमासको समर्थनमा इजरायल लक्षित आक्रमण जारी राख्ने हिजबुल्लाहले चेतावनी दिएको थियो । जसको मूल्य अहिले उसले चुकाउनु परेको छ । यही कारण नै इजरायलको आक्रमण हिजबुल्लाहतर्फ सोझिएको हो। यो युद्ध समयमै नरोकिए मध्यपूर्वी देश हिजबुल्लाहको समर्थनमा ओर्लिने र मध्यपूर्वको युद्ध झन् भड्कने जोखिम छ ।
किनकि, हिजबुल्लाहको समर्थनमा इरान छ । उसकै बलमा हिजबुल्लाहले इजरायलमाथि आक्रमण थालेको हो । तर, इरान भने अहिले इजरायलमाथि आक्रमण गर्ने कि नगर्ने भन्दै द्विविधिमा छ । अन्तर्राष्ट्रिय समुदायको प्रयासका बाबजुद युद्ध मत्थर हुनुभन्दा पनि झन् भड्किँदै छ । युद्ध समाप्त हुने कुनै संकेत तत्काल देखिएको छैन ।