सिरियामा आईएस र अल-कायदाका शीर्ष नेतासहित ३७ जना मारिएको अमेरिकाको दाबी

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिरियामा आईएस र अल-कायदाका शीर्ष नेतासहित ३७ जना मारिएको अमेरिकाको दाबी

काठमाडौं । अमेरिकाको सेन्ट्रल कमाण्ड युनिट-सेन्टकमले सेप्टेम्बर महिनामा सिरियामा भीषण हवाई हमला गरेको बताएको छ । यस महिनामा गरेको हवाई हमाला इस्लामिक स्टेट (आईएस) र अल–कायदाका ३७ जना आतंककारी मारिएको अमेरिकाले दाबी गरेको हो ।

सेन्ट्रल कमाण्ड युनिटले एक विज्ञप्ति जारी गर्दै उक्त विषयको पुष्टि गरेको रोयटर्सले जनाएको छ । अमेरिकाको सो युनिटका सेनाले सिरियामा यस महिनामा १६ र २४ तारिख गरी दुई छुट्टाछुट्टै आक्रमणमा आईएस र अल-कायदाका शीर्ष नेतासहित सम्बन्धित सशस्त्र समूहका दर्जनौँ लडाकु मारेको बताएको छ ।

अमेरिकी केन्द्रिय कमाण्डले सेप्टेम्बर १६ मा मध्य सिरियामा ठूलो मात्रामा हवाई आक्रमण गर्दा चार वरिष्ठ नेतासहित कम्तीमा २८ आतंककारी मारिएको बताएको छ । त्यस्तै सेन्टकमले सेप्टेम्बर २४ मा उत्तरपश्चिम सिरियामा भएको आक्रमणमा नौ जना लडाकु मारिएको बताएको छ ।

हवाई हमलामा मारिने आतंकवादीहरूको पहिचान नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै आक्रमणले अमेरिकी हितका साथै अमेरिकी सहयोगीहरू र साझेदारहरू विरुद्ध कारबाही गर्ने आईएसआईएसको क्षमतामा बाधा पुर्‍याउने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बरमा गरिएको कारबाहीमा मारवान बसम, अब्द अल-रउफ, एक वरिष्ठ नेता हुर्रास अल-दिन मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला विगतका महिनाहरूमा अल-कायदासँग सम्बन्धित समूहको वरिष्ठ नेतृत्वलाई लक्षित गरी यो दोस्रो आक्रमण गरिएको बताइएको छ । त्यस्तै अगस्ट महिनामा सेन्टकमले सिरियामा गरेको कारबाहीमा अबु अब्दुल-रहमान अल-मक्की मारिएको घोषणा गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement