इजरायलको आक्रमणमा हमासका शीर्ष नेता अबु अल अमीनको मृत्यु

आफ्नो कारबाहीबाट कुनै क्षेत्र टाढा नरहेको इजरायलको चेतावनी
आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलको आक्रमणमा हमासका शीर्ष नेता अबु अल अमीनको मृत्यु

काठमाडौं । इजरायली सेनाले लेबनानको बेरुतमा गरेको पछिल्लो हवाई हमलामा प्यालेस्टिनी लडाकु समूह हमासका शीर्ष नेता फतेह सेरिफ अबु अल अमीनको मृत्यु भएको छ ।

हमासले लेबनिज समूह हेर्ने हमासका शीर्ष नेता मारिएको पुष्टि गरेको हो । इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । त्यस्तै बेरुतको केन्द्रमा रहेको कोला जिल्लामा इजरायली सेनाले गएराति गरेको हवाई आक्रमणमा पपुलर फ्रन्ट फर द प्यालेस्टाइनका तीन नेता मारिएको बीबीसीले जनाएको छ ।

आइतबार इजरायली सेनाले यमनमा इरान समर्थित समूह हुथी विद्रोही लक्षित आक्रमण गरेको थियो । जसमा चार जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएका थिए । हुथी समूहले गरेको आक्रमणको प्रत्याक्रमणमा यमनमा इजरायली सेनाले आक्रमण गरेको हो । हिजबुल्लाहका प्रमुख हसन नसरुल्लाहको मृत्यु पछि पनि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको गढ मानिएको बेका भ्यालीमा आक्रमण जारी राखेको छ ।

आइतबार मात्र आक्रमणमा १ सय ५ जनाको मृत्यु भएको थियो भने तीन सय ५९ जना घाइते भएका थिए । यसैबीच इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा नसरुल्लाहसहित २० जना हिजबुल्लाहका शीर्ष नेता मारिएको दाबी गरेको छ ।

लेबनानका प्रधानमन्त्री नाजीब मिकातीले युद्ध भड्किएपछि लेबनानबाट दशौँ लाख मानिस पलायनको अवस्थामा रहेको बताउनुभएको छ । इजरायलका रक्षामन्त्री योभ ग्लान्टले इजरायली सेनाको कारबाहीबाट कुनै क्षेत्र टाढा नरहेको दाबी गर्नुभएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले मध्यपूर्वमा भड्किएको युद्धलाई तत्काल अन्त्य गर्नुपर्ने बताउनुभएको छ । यसका लागि आफू इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुरा गर्ने स्पष्ट पार्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement