इजरायलद्वारा लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित हमला तीव्र

अन्तर्राष्ट्रिय दबाबका बाबजुत नेतन्याहू आक्रमणको पक्षमा
प्रतिकारमा हिजबुल्लाहद्वारा ४५ रकेट प्रहार
आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलद्वारा लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित हमला तीव्र

काठमाडौं । इजरायलले लेबनान र सिरियासँग जोडिएको क्षेत्रमा ७५ वटा हिजबुल्लाह समूहको ठेगानालक्षित हमला सुरु गरेको छ । पश्चिमा राष्ट्रहरूले इजरायल र हिजबुल्लाहबीच २१ दिने अस्थायी युद्धविरामको प्रस्ताव अघि सारेको केही घण्टापछि इजरायली सेनाले पुनः आक्रमण गरेको हो ।

पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश महिला र बालबालिका छन् । इजरायलले गरेको आक्रमणको प्रतिकार गर्दै हिजबुल्लाहले ४५ वटा रकेट प्रहार गरेको छ । त्यसमध्ये केही रकेटलाई बीचमै ध्वस्त पारिएको दाबी इजरायली सेनाले गरेको छ ।

इजरायलले सोमबार यता गरेको आक्रमणबाट झन्डै ६ सय मृत्यु भइसकेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय दबाबका बीच पनि दुवै पक्षले सीमावर्ती क्षेत्रमा भिडन्त जारी राखेका हुन् । इजरायलले उत्तरी क्षेत्रबाट हिजबुल्लाह नहटेसम्म आक्रमण जारी राख्ने चेतावनी दिएको छ ।

युद्ध भड्किँदै गएपछि सीमावर्ती क्षेत्रका ९० हजारभन्दा बढी बासिन्दा पलायन भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानमा पूर्णशक्तिका साथ आक्रमण जारी राख्न सेनालाई निर्देशन दिनुभएको छ । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री नेतन्याहूले लेबनानमाथी पूर्ण शक्तिका साथ आक्रमण गर्न सेनालाई आदेश दिनुभएको हो ।

यता महासभाको साइडलाइनमा भने दुवै पक्षबीचको युद्धलाई मत्थर पार्ने अमेरिकाको तयारी छ । गाजा युद्ध विरामलाई अगाडि बढाउन नेतन्याहूसँग अमेरिकाले छलफल गर्ने बताइएको छ । तर इजरायली विदेश मन्त्री इजरायल काट्जले भने युद्धविराम नहुने स्पष्ट पार्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement