इजरायलले लेबनानमा गरेको आक्रमणबाट एकै दिन ५ सय ५८ जनाको मृत्यु

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलले लेबनानमा गरेको आक्रमणबाट एकै दिन ५ सय ५८ जनाको मृत्यु

काठमाडौं । इजरायलले आज पुनः दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाहलक्षित हवाई आक्रमण सुरु गरेको छ । इजरायली सेनाले हिजबुल्लाहका दर्जनौं ठेगानामा हवाई आक्रमणसँगै रकेट लञ्चरले आक्रमण गरेको हो ।

हिजबुल्लाहले उत्तरी इजरायलमा २ सय ५० बढी रकेट प्रहार गरेको भन्दै प्रतिकारमा पुनः हमलालाई निरन्तरता दिइएको इजरायली सेनाले जनाएको छ ।

हिजो इजरायली सेनाले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी गरेको हवाई आक्रमणमा एकै दिनमा ५ सय ५८ जना मारिएपछि प्रतिकारमा हिजबुल्लाहले गएरातिदेखि उत्तरी इजरायलमा एक्प्लोसिभ कारखाना र उत्तरी क्षेत्रस्थित अफुला शहरमा रहेको मेगिड्डो एयरफिल्डमा २ सय ५० रकेट प्रहार गरेको थियो । हिजबुल्लाहद्वारा प्रहार गरिएका केही रकेटलाई प्रतिरक्षा प्रणालीको मद्दतले निस्कृय बनाइएको थियो । कतिपय रकेट खुला क्षेत्रमा खसेको इजरायली सेनाले दाबी गरेको छ । दुवै पक्षबीचको आक्रमण जारी छ ।

यसैबीच दक्षिणी लेबनान छाड्ने क्रम भने जारी नै छ भने हजारौं नागरिक त्यहाँबाट पलायन भइसकेको बीबीसीले जनाएको छ । लेबनानमा करिब २० वर्षयताकै यो सबैभन्दा घातक द्वन्द्व भएको टिप्पणी भइरहेको छ ।

त्यस्तै निरन्तर आक्रमणका कारण उत्तरी इजरायलमा विद्यालयहरु धमाधम बन्द भइरहेका छन् भने दक्षिणी लेबनानमा समेत विद्यालय बन्द गरिएको छ ।

मध्यपूर्वमा युद्ध भड्किएपछि कतार एयरवेजलगायत विभिन्न एयरलाइन्सले बेरुत आउने र जाने ३० वटा उडान रद्द गरेका छन् । त्यस्तै ब्रिटिस एयरवेजले तेल अविव जाने आफ्नो उडानलाई रद्द गरेको छ ।

त्यस्तै अमेरिका, चीनलगायतका देशहरुले आफ्ना नागरिकलाई इजरायल र लेबनान भ्रमण नगर्न र त्यहाँ रहेका आफ्ना नागरिकलाई सर्तक भइ बस्न वा फर्कन भनेको छन् ।

मध्यपूर्वमा पूर्ण युद्ध सुरु हुन सक्ने आशंकाका बीच विश्वका नेताहरु र संयुक्त राष्ट्रसंघले संयमता अपनाउन दुवै पक्षलाई आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै लेबनान ‘अर्को गाजा’ बन्न नहुने बताउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement