हिजबुल्लाहले प्रयोग गर्दै आएको क्षेत्रबाट अन्यत्र जान लेबनानी जनतालाई इजरायलको चेतावनी

लेबनान अर्को गाजामा परिणत हुने खतरा देखेको राष्ट्रसंघका महासचिव गुटरेसको प्रतिक्रिया
आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिजबुल्लाहले प्रयोग गर्दै आएको क्षेत्रबाट अन्यत्र जान लेबनानी जनतालाई इजरायलको चेतावनी

काठमाडौं । इजरायली सेनाले इरान समर्थित शिया इस्लामिक राजनीतिक दल तथा अर्धसैनिक समूह हिजबुल्लाहले प्रयोग गर्दै आएको क्षेत्रबाट अन्यत्र जान लेबनानी जनतालाई चेतावनी दिएको छ ।

इजरायल र हिजबुल्लाहबीच आक्रमण जारी रहेका बेला इजरायली सेनाले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा लक्षित गर्दै भीषण हवाई आक्रमण जारी राखेको समेत जनाएको छ । दक्षिणी लेबनानमा हिजबुल्लाह लक्षित हवाई कारबाही मात्र गरिने र तत्कालका लागि स्थलगत सैन्य कारबाहीको कुनै योजना नरहेको पनि इजरायली सेनाले जनाएको छ ।

शनिबार रातभर र आइतबार बिहानसम्म गरी हिजबुल्लाहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलका भित्री भागसम्म पुग्ने गरी करीब एक सय पचास रकेट प्रहार गरेको थियो । प्रतिकारमा इजरायलले पनि दक्षिणी लेबनानमा हिजबुल्लाहका केन्द्रलक्षित प्रहार गरेको र उसका हजारौं रकेट लन्चर ध्वस्त पारेको दाबी गरेको छ । इजरायल र हिजबुल्लाहबीचको सीमापार आक्रमण र प्रत्याक्रमणले अन्तरराष्ट्रिय समुदायलाई चिन्तित बनाएकोछ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लेबनान अर्को गाजामा परिणत हुने खतरा देखेको प्रतिक्रिया दिनुभएको छ ।

गत मंगलबार र बुधबार हिजबुल्लाहका सदस्यहरुले प्रयोग गर्ने पेजर र वाकीटाकी जस्ता संचार उपकरणमा विस्फोट हुँदा कम्तीमा ३९ जना मारिनुका साथै सयौं मानिस घाइते भएका थिए । हिजबुल्लाहले उक्त विस्फोटमा इजरायलको हात रहेको आरोप लगाए पनि इजरायलले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि अन्तरराष्ट्रिय स्तरमा पनि सो विस्फोटमा इजरायलको गुप्तचर निकाय मोसादको हात रहेको विश्वास गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement