इजरायल र हिजबुल्लाह समूहबीच केही दिनदेखिको मिसाइल हमला जारी

लेबनान अर्को गाजामा रूपान्तरण हुने सम्भावना बढेको राष्ट्रसंघको भनाइ
आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायल र हिजबुल्लाह समूहबीच केही दिनदेखिको मिसाइल हमला जारी

काठमाडौं । लेबनानबाट हिजबुल्लाह समूहले इजरायलको हाइफा क्षेत्रलक्षित कम्तीमा १ सय ५० रकेट र मिसाइल प्रहार गरेको छ । आक्रमणमा दुई पुरुष र एक बालिका घाइते भएको बताइएको छ । प्रतिकारमा इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका हजारौँ लञ्चर ध्वस्त पारेको बताएको बीबीसीले जनाएको छ ।

विगत केही दिनदेखि इजरायल र हिजबुल्लाह समूहबीच लगातार एक अर्कामाथि हमला गरिरहेको कारण मध्यपुर्वमा क्षेत्रीय द्वन्द्वको खतरा बढ्दै गएको छ । हमालापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँग सीमा जोडिएका गाउँहरूमा पुनः बसोबास गराउन इजरायलले आवश्यक कदम चाल्ने बताउनुभएको छ । उहाँले हिजबुल्लाहलाई यस आक्रमणको आवश्यक जवाफ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले एक भिडियो सन्देश जारी गर्दै इरान समर्थित हिजबुल्लाहले बिना कुनै कारण इजरायलमा आक्रमण गरिरहेको र उक्त आक्रमणका कारण अहिलेसम्म करिब ६० हजार मानिसहरुले आफ्नो घर छाड्नु परेको बताउनुभएको छ ।

साथै कुनै पनि देशले आफ्ना सहरमा बम विस्फोट सहन नसक्ने भन्दै आफूहरुले पनि यस्को उचित जवाफ दिने उहाँको भनाइ छ । यस साता, लेबनानमा सञ्चार उपकरणहरूमा विस्फोटपछि, इजरायली रक्षा मन्त्री योभ ग्लान्टले सेना उत्तरतर्फ बढिरहेको र सेना प्रमुखले इजरायल र लेबनान सीमामा युद्धलाई स्वीकृति दिएको बताउनुभएको छ ।

त्यस्तै इजरायली हमलामा मारिएका हिजबुल्लाह कमाण्डर इब्राहिम आकिलको अन्तेष्टीमा बोल्दै हिजबुल्लाह नेता शेख नदिम कासिमले आफूले नयाँ युद्धको नयाँ चरणको सुरुवात गरेको र इजरायलले यस्को सामना गर्नुपर्ने बताउनुभएको छ । त्यस्तै मध्यपूर्वमा युद्ध भड्किने भएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लेबनान अर्को गाजामा रूपान्तरण हुने सम्भावना बढ्दै गएको भन्दै युद्धलाई मत्थर पार्न दुवै पक्षलाई आह्वान गर्नुभएको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले मध्यपूर्वमा युद्ध भड्किन नदिन हरसम्भव प्रयास आफुले गरिरहेको बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement