चाडबाडकै मुखमा खाद्यान्नको भाउ बढ्दा उपभोक्ता मर्कामा

आश्विन ८, २०८१ |सुदिल पोखरेल|अमर क्षितिज भण्डारी
चाडबाडकै मुखमा खाद्यान्नको भाउ बढ्दा उपभोक्ता मर्कामा

दाङ/काठमाडौं । सरकारले महंगी नियन्त्रणमा रहेको दाबी गरे पनि चाडबाडकै मुखमा खानेतेलको भाउ बढेको छ । अन्य खाद्यान्न तथा तरकारीको भाउ पनि गत वर्षभन्दा किलोमै ५६ रुपैयाँभन्दा बढी वृद्धि भएको छ । बजारमा बस्तुको माग नबढ्दा एकातिर ब्यापारी मारमा छन् भने खाद्यान्नको भाउ बढेर उपभोक्ता मर्कामा परेका छन् ।

दाङको घोराहीकी ६२ वर्षीय पार्वती घर्तिले सडक छेउमा मकै पोलेर गुजारा चलाउन थालेको ३० वर्ष भयो । उहाँलाई चाडबाड नआए पनि हुन्थ्योजस्तै लाग्छ ।

चाडबाडकै बेला तरकारी तथा खाद्यान्नमा मूल्यवृद्धि हुने भएकाले भान्सा महंगो हुँदै गएको गृहिणीहरुको गुनासो छ ।

दशैं नजिकिँदै गर्दा बजारमा केही चहलपहल बढेको छ । तर यही बेला तेल तथा खाद्यान्नको भाउ महंगो भएको छ । तेलको मूल्य लिटरमै गत वर्षभन्दा १० रुपैयाँ महंगो भएको छ भने चामल २० रुपैयाँ महंगिएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । त्यस्तै तराई ताइचिन चिउरा गत वर्षभन्दा किलोमै ४५ रुपैयाँ र चिनी १५ रुपैयाँ महंगो भएको व्यवसायी प्रदीप पान्डेले बताउनु भयो ।

घिउको मूल्य गत वर्षको तुलनामा २ सय रुपैयाा महंगो भएको छ भने सुजीमा १० रुपैयाँ र दालमा ५ रुपैयाँ बढेको छ । खुद्रा पसल बाहेक सरकारको नियमन अन्य ठाउँमा हुन नसक्दा बजारमा महंगी बढेको ब्यापारीहरु बताउँछन् ।

दशैं-तिहारका बेला खपत हुने काजु बदामजस्ता ड्राइफ्रुटको पनि भाउ महंगिएको व्यापारी बताउँछन् । माग अनुसार बजारमा आपूर्ति नहुादा महंगिएको उनीहरुको दाबी छ ।

प्याज, लसुन, आलुजस्ता तरकारीको मूल्य पनि बढेको छ । प्याजको मूल्य किलोमै गत वर्षभन्दा ४६ रुपैयाा महंगो भएको छ । लसुनको मूल्य किलोमै ५६ रुपैयाा महंगो हुँदा आलु पनि किलोमा १९ रुपैयाँ महंगो भएको छ ।

आयातित प्याज र आलुको उत्पादन भारतमा कम हुँदा त्यसको असर नेपाली बजारमा परेको छ । त्यसैले आन्तरिक उत्पादन बढाउँदै खपत तथा बजारीकरणमा राज्यका सम्पूर्ण निकायले ध्यान दिनु जरुरी छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement