श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
 श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेसनल पिपुल्स पावर-एनपीपी गठबन्धनका तर्फबाट उम्मेदवार दिसानायकेले आज राजधानी कोलम्बोको राष्ट्रपतिको सचिवालयमा आयोजित सपथ ग्रहण समारोहमा श्रीलंकाको नवौं राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको भएको हो । दिसानायकेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको बताइएको छ ।

गत शनिबार भएको राष्ट्रपति निर्वाचनमा दिसानायके विजयी हुनुभएको थियो । उहाँ आफ्नो निकटतम प्रतिद्वन्द्वी सजिथ प्रेमदासालाई करिब १० प्रतिशत अंकले पछि पार्दै विजयी हुनुभएको हो । पहिलो चरणको गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि निर्वाचन आयोगले श्रीलंकाको राष्ट्रपति चुनावको इतिहासमा पहिलो पटक दुई प्रमुख उम्मेदवारको दोस्रो र तेस्रो प्राथमिकताको गणना गरेको थियो ।

दोस्रो चरणको मतगणनापछि आयोगले दिसानायके विजयी भएको घोषणा गरेको थियो । पहिलो चरणको मतगणनामा दिसानायकेले ५६ लाख ३४ हजार ९ सय १५ र दोस्रो मतगणनामा एक लाख ५ हजार २६४ मत ल्याउनुभएको थियो । एकेडीका नामले चर्चित ५५ वर्षीय अनुरा कुमारा दिसानायके वामपन्थी धारका नेता हुनुहुन्छ ।

उहाँ मार्क्सवादी लेनिनवादी दल जनता विमुक्ति पेरामुना अर्थात जेभीपीका अध्यक्ष हुनुहुन्छ । उहाँको दलले १९७० र १९८०को दशकमा तत्कालीन सत्ताविरुद्ध असफल सशस्त्र विद्रोह गरेको थियो । पछि आएर जेभीपीले हिंसा परित्याग गरेको घोषणा गर्दै लोकतन्त्रप्रति प्रतिबद्धता जनाएको थियो ।

देशको नयाँ राष्ट्रपतिका रुपमा श्रीलंकाको संकटग्रस्त अर्थतन्त्रलाई सही दिशा दिनु दिशानायकेका लागि एउटा ठुलो र मुख्य चुनौती हुनेछ । दिसानायकेले आशा र अपेक्षाले भरिएका लाखौं आँखाले आफूहरुलाई अगाडि बढाएको र आफूहरु श्रीलंकाको इतिहासलाई पुनः लेख्न तयार रहेको बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement