काभ्रे । जिल्लाको व्यस्त बजार धुलिखेलको आड्डा बजारमा मालपोत कार्यालयमा कामका लागी आएका प्रभुराज गीरीले खाजा खान एक होटलमा पस्नुभयो । खाजासँगै पेय पदार्थ पनि माग्नुभयो । तर, पेय पदार्थमा अखाद्य वस्तु भेटिए पछि उहाँले खाध्य तथा गुण नियन्त्रण कार्यालयलाई खबर गर्नुभयो । केहि समयमै गुण नियन्त्रण कार्यालयले स्लाइस वितरण गरिरहेको गाडीलाई नियन्त्रणमा लियो र कारबाही प्रक्रिया अघि बढायो ।
सोहि स्थानमा अखाद्य वस्तु भेटिएको स्लाइस धमाधम डिलरले बिक्री गरिरहेको अवस्थामै गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अखाद्य वस्तु भेटिएपछि बनेपा स्थित एएनए मार्केटिङ (स्लाइस डिलर) शील गरिएको छ । आज साँझ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी लगायत सरोकारवालाको उपस्थितीमा बनेपा बुडोल स्थित डिलरमा अनुगमन गरिएकोमा गोदाममा पनि सोही प्रकृतिको २९ हजार बोतल पेय पदार्थ भेटिएको छ ।
भेटिएको २९ हजार बोतल अर्थात १२ सय क्रेट स्लाइस नष्ट गर्ने तयारी गरिएको छ । अहिले विभागलाई पत्राचार गर्ने र स्याम्पलिङको रिपोर्ट पछि नष्ट समेत गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलका कार्यालय प्रमुख मनिषा चौपागाईले जानकारी दिनुभयो ।
शिल गरिएको पेप्सीको आधिकारीक डिलरमा कुनै बोर्ड समेत राखिएको छैन । डिलरमा सरसफाई पनि नभएको र बिक्री वितरण गर्दा बिल उपलब्ध नगराउने गरेको खुद्रा बिक्रेता कल्पना श्रेष्ठले बताउनु भयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पत्राचार पछि नष्ट गर्ने प्रक्रिया अगाडी बढाउने गरी कार्य सुरु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनिलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।