इजरायलले लेबनानमा गरेको आक्रमणबाट एकै दिनमा ४ सय ९२ जनाको मृत्यु

विश्वका नेता र राष्ट्रसंघद्वारा संयमता अपनाउन दुवै पक्षलाइ आह्वान
आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलले लेबनानमा गरेको आक्रमणबाट एकै दिनमा ४ सय ९२ जनाको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी गरेको हवाई आक्रमणमा सोमबार एकै दिन कम्तीमा ४ सय ९२ जना मारिएका छन् । लेबनानमा करिब २० वर्ष यताकै यो सबैभन्दा घातक द्वन्द्व भएको अन्तरराष्ट्रिय समाचारमाध्यमले टिप्पणी गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मृतकमध्ये ३५ बालबालिका र ५८ जना महिला रहेको र आक्रमणमा १ हजार ६४५ जना घाइते भएको बताएको छ । मृतकमध्ये कति जना सर्वसाधारण वा हिजबुल्लाहका लडाकु थिए भन्ने विवरण भने खुलाइएको छैन।

इजरायली सेनाले हिजबुल्लाहका १३ सय ठेगानामा आक्रमण गरेको जनाएको छ । उता हिजबुल्लाहले पनि उत्तरी इजरायलमा २ सयभन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ। मध्यपूर्वमा पूर्ण युद्ध सुरु हुन सक्ने आशंकाका बीच विश्वका नेताहरु र संयुक्त राष्ट्रसंघले संयमता अपनाउन दुवै पक्षलाई आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै लेबनान "अर्को गाजा" बन्न नहुने बताउनु भएको छ । यस्तै युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले, विश्व नेताहरू राष्ट्रसंघमा भेला हुनु अघि चर्किएको द्वन्द्व अत्यन्त खतरनाक र चिन्ताजनक भएको बताउँदै मध्यपूर्व पूर्ण यु्द्धको संघारमा रहेको बताउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement