आगामी निर्वाचनमा हारे अर्को पटक नउठ्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घोषणा

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आगामी निर्वाचनमा हारे अर्को पटक नउठ्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफूले हारे सन् २०२८ को राष्ट्रपतिको चुनावमा नउठ्ने घोषणा गर्नुभएको छ । सिनक्लेअर मिडिया ग्रुपसँगको अन्तरवार्तामा ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँ नोभेम्बरको चुनावसहित अहिलेसम्म तीन पटक राष्ट्रपतिको उम्मेदवार बन्नुभएको छ । उहाँले विगत आठ वर्षमा आफ्नो पार्टी रिपब्लिनकलाई नयाँ स्वरुप र नयाँ उचाइमा समेत पुर्‍याउनु भएको बीबीसीले जनाएको छ ।

७८ वर्षीय ट्रम्पले चुनावमा पराजयको सम्भावनालाई स्वीकार गरेको विरलै छ । तर, पछिल्ला चार दिनमा ट्रम्पले हारको उल्लेख गरेको यो दोस्रो पटक हो।

त्यस्तै, केही दिन अगाडी ट्रम्पले यदि आफू चुनावमा पराजित भए केही हदसम्म यस्को जिम्मेवार यहुदी अमेरिकी मतदाता हुने आरोप लगाउनुभएको थियो । उहाँले एक चुनावी सभामा यहुदी अमेरिकीहरुलाई आफ्नो मित्र भन्दै आफूले चुनाव जिते उनीहरुको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

तर, यसपटक अन्तरवार्तामा आफ्नो हारको कारण याहुदी जिम्मेवार हुने बताएपछि यहुदी अमेरिकी समूदायले भने आपत्ति जनाएको बीबीसीले जनाएको छ ।

साथै उहाँले यदी आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस चुनाव जित इजरायल सकिने र यहुदीको सुरक्षा समेत गर्न नसक्ने भन्दै बताउनुभएको थियो । 

यस्तो खुलासा गरे पनि ट्रम्पले नोभेम्बरमा हुन लागेको चुनावमा भने आफू पराजित नुहुने दाबी समेत गर्नुभएको बताइएको छ । अमेरिकी कानुन अनुसार कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी अमेरिकी राष्ट्रपति पदमा बस्न नपाउने व्यवस्था छ । 

यस्तो अवस्थामा ट्रम्पले जिते पनि सन् २०२८ मा हुने राष्ट्रपतीय चुनाव लड्न पाउने भने छैनन् । अमेरिकामा अगामी नोभेम्बर ५ मा राष्ट्रपतिको चुनाव हुँदैछ । उक्त चुनावमा सम्पूर्ण ध्यान ट्रम्प र ह्यारिसमाथि छ । सर्वेक्षणका अनुसार दुवै प्रतिद्वन्द्वीबीच निकै कडा प्रतिस्पर्धा भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement