विपीन जोशीको सकुशल रिहाइका लागि विश्व समुदाय समक्ष नेपालको आह्वान

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपीन जोशीको सकुशल रिहाइका लागि विश्व समुदाय समक्ष नेपालको आह्वान

काठमाडौं । कञ्चनपुरका विपीन जोशी हमासको अपहरणमा परेको पनि एक वर्ष पूरा हुनै लागेको छ । सन् २०२३ को अक्टोबर ७ मा इजरायलबाट अपहरणमा परेका विपीनको रिहाइका लागि सरकारले विभिन्न समयमा गरेका पहल पनि सफल भएका छैनन् । न्युयोर्कमा भएको असंलग्न राष्ट्रहरुको संगठन-नामको मन्त्रीस्तरीय बैठकमा सहभागी परराष्ट्रमन्त्री आरजु राणाले पुनः विपीनको रिहाइको आवाज उठाउनुभयो । 

असंलग्न राष्ट्रहरुको सङ्गठन–नामको मन्त्रीस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणाले विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल बिपीनको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गर्नुभयो ।

नेपाल सरकारले हमासद्वारा इजरायलमाथि २०२३ को अक्टोबरमा भएको उक्त हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री राणाको भनाइ छ । प्यालेस्टिनी लडाकू समूह हमासले २०२३ को अक्टोबर ७ मा उत्तरी इजरायलमा गरेको आक्रमणका क्रममा कञ्चनपुरका विपीन जोशी अपहरणमा परेका थिए । उक्त आक्रमणमा १० नेपालीसमेत मारिएका थिए । अपहरणमा परेको एक वर्ष पूरा हुन अब दुई सातामात्र बाँकी छ । तै पनि विपीन रिहा हुन सकेका छैनन् । यसबीचमा विपीनको रिहाइका लागि सरकारले पटक-पटक कूटनीतिक पहल गरे पनि सफल हुन सकेको छैन । हमास र इजरायलबीच यसअघि छोटो समयका लागि संघर्षविराम हुँदा अन्य देशका बन्धक रिहा भए । तर सरकारको कमजोर कूटनीतिका कारण विपीन रिहा हुन सकेका थिएनन् । इजरायल सरकारले विपीन सुरक्षित रहेको जानकारी भएको दाबी गर्दै आए पनि उनको स्थितिबारे अझै थाहा हुन सकेको छैन ।

असंलग्न राष्ट्रहरुको बैठकमा मन्त्री राणाले गाजामा नागरिक, पत्रकार, राष्ट्रसंघीय कर्मचारी, स्वास्थ्यकर्मी , नागरिक तथा पूर्वाधारमाथि भएका आक्रमणको नेपालले निन्दा गरेको उल्लेख गर्दै यस्ता कार्य रोक्न पनि माग गर्नुभयो । इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधान टु स्टेट सोलुसन अर्थात् दुई राज्य निर्माण गरेर हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

विभिन्न नाम र बहानामा विश्वका कयौं ठाउँमा अहिले पनि युद्ध, बिद्रोह तथा हिंसाजन्य कार्य भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्ति स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । मन्त्री राणाले इजरायल र प्यालेस्टाइन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement