ऐतिहासिक पदक जितेकी एरिकालाई भव्य स्वागत

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ऐतिहासिक पदक जितेकी एरिकालाई भव्य स्वागत

काठमाडौं । २०औं एसियाली सिनियर कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथिको तौल समूहमा ऐतिहासिक रजत पदक जितेर आज स्वदेश फर्किएकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरियो । एरिकाले चीनको हाङचोउस्थित स्पोर्टस सेन्टर जिम्न्याजिममा रजत जित्दै इतिहास रचेकी हुन् । फाइनलमा भियतनामकी नाओन थी नुयेनसँग चुके पनि नेपालका लागि इतिहास रच्न सफल एरिका र उनका प्रशिक्षक कुशल श्रेष्ठसहित सहभागी सबै खेलाडीले स्वदेश फर्कंदा न्यानो स्वागत पाएका हुन् ।

सन् १९९३ मा ताइवानमा आयोजित पहिलो संस्करणबाटै एसियाली सिनियर कराते च्याम्पियनसिपमा सहभागी हुँदै आए पनि नेपालले हालसम्म कुनै पदक जित्न सकेको थिएन । तर, तीन दशक लामो पदकको खडेरी तोड्दै एरिकाले यस पटक नेपाललाई ऐतिहासिक रजत पदक दिलाइन् । एरिकाले हालसम्मका अधिकांश अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई पदक दिलाएकी छन् । उनले १९ औं एसियाली खेलकुदमा समेत ऐतिहासिक रजत जितेकी थिइन् । प्रशिक्षकको रुपमा कुशल श्रेष्ठ र खेलाडीको रुपमा एरिकाले नेपाललाई कहिलै निराश पारेका छैनन् । प्रशिक्षक र खेलाडीको रुपमा शानदार इतिहास रचिरहेको यो जोडीको सफलताको पछाडि लगनशीलता, निरन्तरको परिश्रम, समर्पण, त्याग र दृढ आत्मविश्वास नै हो ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङचोउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितिसकेकी छन् । उमेरले कलिलै भए पनि अनुभव र उपाधिले परिपक्व एरिका नयाँ पुस्ताका लागि प्रेरणासमेत हुन् ।

हरेक अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई पदक दिलाउँदै आएकी एरिका नेपाली करातेका लागि बरदान हुन् । दसैंअघि ऐतिहासक पदक जितेर एरिकाले सिङ्गो देशलाई शानदार उपहार दिएकी छन् । एरिका दसैंकै दिन विश्व कराते च्याम्यिनसिपमा सहभागी हुन इटाली जाँदै छिन् । नेपालले उनीबाट विश्व कराते च्याम्यिनसिपमा पनि पदकको आशा गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement