संयुक्त राष्ट्रसंघको महासभामा ‘समीट अफ द फ्यूचर,’ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने

आश्विन ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
संयुक्त राष्ट्रसंघको महासभामा ‘समीट अफ द फ्यूचर,’ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका बीच ‘भविष्यको शिखर सम्मेलन’ अर्थात् ‘समीट अफ द फ्यूचर’को आयोजना हुँदैछ ।

यो सम्मेलन २२ र २३ सेप्टेम्बरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमै आयोजना हुनेछ । सम्मेलनको मुख्य उद्देश्य ‘अहिलेको परिस्थिति र भोलिका लागि राम्रो भविष्य’ हो । सम्मेलनमा विश्वका सम्पूर्ण नेता सहभागी भई आफ्नो धारणा राख्ने आपेक्षा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

सन् २०२० मा राष्ट्रसंघको स्थापना भएको ७५ वर्ष पूरा भयो । भविष्यका लागि आकांक्षा र डरबारे विश्वव्यापी छलफल सुरु भएकै बेला ‘समीट अफ द फ्यूचर’को प्रक्रियागत सुरुवात भयो । जर्मनी र नामिबिया सम्मेलनको सह-आयोजक हुन् ।

संकटग्रस्त विश्व परिस्थितिमा आगामी बाटो देखाउनको लागि महासचिव एन्टोनियो गुटेरेसको नेतृत्वमा सम्मेलन हुन लागेको हो । सम्मेलनलाई वर्तमान परिस्थितिका चुनौतीहरुलाई सुरक्षित गर्दै आगामी भविष्यको बाटो पुनःपरिभाषित गर्न एकताबद्ध गर्ने एक महत्त्वपूर्ण भेलाको रुपमा हेरिएको छ ।

अहिलेको पुस्तामा घटेको विश्वास र त्यसको सुधार सम्मेलनको मुख्य उद्देश्य हो । अहिले संसार दोस्रो विश्व युद्धपछिको सबैभन्दा संकटग्रस्त अवस्थामा छ । बहुपक्षीयतामा कमजोरी आएको तथा जलवायु परिवर्तनको समस्या बढिरहेको छ । दुई वर्षदेखि जारी रुस-युक्रेन युद्ध रोकिने अवस्थामा छैन भने इजरायल-हमास द्वन्द्व पनि जारी नै छ । यी दुई युद्धले संसारभर आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक, जलवायुलगायत क्षेत्रमा असर पारिरहेको छ ।

त्यस्तै सन् २०१९ मा आएको कोभिड-१९ संक्रमणको कारण आर्थिक क्षेत्रमा परेको असरले गरिबी बढेको छ ।

सम्मेलनलाई ‘विश्वव्यापी कार्यलाई पुनर्जीवित गर्ने, आधारभूत सिद्धान्तहरूमा पुनः प्रतिबद्धता र बहुपक्षीयताको ढाँचालाई थप विकास गर्ने अवसरको रूपमा व्याख्या गरिएको छ । सम्मेलनले सदस्य मुलुकका अहिलेका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न प्रयासहरूलाई तीव्र पार्ने तथा उदीयमान चुनौती र अवसरहरूको जवाफ दिन ठोस कदम चाल्ने आह्वान गर्नेछ ।

संयुक्त राष्ट्रसंघका अनुसार समिट अफ द फ्यूचरको मुख्य उद्देश्य र सम्झौता ५ वटा छन् । पहिलो, संयुक्त राष्ट्रबडापत्रलाई पुनःपुष्टि, दोस्रो, बहुपक्षीयतालाई पुनर्जीवित गर्नु, तेस्रो, विद्यमान प्रतिबद्धताको कार्यान्वयनमा जोड, चौथो, नयाँ चुनौतीको समाधानमा सहमत हुने, र, पाँचौ विश्वास पुनस्थापित गर्ने रहेको छ । यसले विश्वलाई एक छातामुनि ल्याउने अपेक्षा गरिएको छ ।



Enter Kantipur TV HD
Advertisement