श्रीलंकामा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सम्पन्न, नतिजा भोलि आउने

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्रीलंकामा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सम्पन्न, नतिजा भोलि आउने

काठमाडौं । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ४ बजेसम्म चलेको त्यहाँको निर्वाचन आयोगले जानकारी दिएको छ ।

चुनावका लागि १३ हजार ४ सयभन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको थियो । २२ निर्वाचन क्षेत्र तय गरिएको यस चुनावमा करिब १ करोड ७० लाख मतदाता थिए । चुनावका लागि ३८ उम्मेद्वार मैदानमा छन् । निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे, राष्ट्रिय जनशक्ति गठबन्धनका उम्मेदवार अनुरा कुमार दिशानायके र एसजेबी नेता सजित प्रेमदासाबीच मुख्य प्रतिस्पर्धा छ ।

यस्तै पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका छोरा नमल राजपाक्षे पनि चुनावी मैदानमा छन् । स्वतन्त्र रूपमा उम्मेदवार बन्नुभएका विक्रमासिङ्घे र प्रमुख विपक्षी नेता प्रेमदासालाई भारत समर्थक मानिएको छ भने चुनावी सर्वेक्षणमा सबैभन्दा बलियो स्थितिमा देखिएका दिशानायके चीन पक्षधर हुनुहुन्छ ।

भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता जनाउनु भएका उहाँ युवामाझ निकै लोकप्रिय हुनुहुन्छ । श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो ।

संकटका बीच प्रदर्शन चर्किँदा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि रनिल विक्रमासिङ्घे राष्ट्रपति बन्नुभएको थियो । आज भएको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रुपमा हेरिएको छ । निर्वाचनको नतिजा आइतबार सार्वजनिक हुने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement