दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य केन्द्र ध्वस्त पारेको इजरायलको दाबी

हिजबुल्लाहको पनि जवाफी आक्रमण
आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य केन्द्र ध्वस्त पारेको इजरायलको दाबी

काठमाडौं । मध्यपूर्वमा युद्ध थप भड्कने जोखिम बढेको छ । इजरायलले गरेको आक्रमणविरुद्ध हिजबुल्लाह प्रत्याक्रमणमा उत्रिएपछि युद्ध थप चर्कने देखिएको हो ।

इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका सैन्य केन्द्र र पूर्वाधार ध्वस्त पारेपछि हिजबुल्लाहले उत्तरी इजरायलमा १ सय ४० भन्दा बढी रकेट प्रहार गरेको हो । गएराति इजरायली डिफेन्स फोर्सले हिजबुल्लाहका पूर्वाधारहरु ध्वस्त पारेको थियो । इजरायलका रक्षामन्त्री योआभ ग्लान्टले आफूहरुले युद्धको नयाँ चरणको सुरुवात गरेको जनाएलगत्तै हिजबुल्लाहलक्षित आक्रमण गरिएको जनाएको छ ।

इजरायलले दक्षिणी लेबनानमा ५२ भन्दा बढी हवाई हमला गरेको र यो हमला अहिलेसम्मकै ठूलो रहेको लेबनानी सञ्चारमाध्यमले दाबी गरेका छन् । लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको वाकीटकी विस्फोट हुँदा ३७ जनाको मृत्यु भएको थियो भने हजारौँ व्यक्ति घाइते भएपछि दुवै पक्षबीचको द्वन्द्व भड्किएको हो ।

लगत्तै हिजबुल्लाहका प्रमुख नसरुल्लाहले सम्बोधन गर्दै हमाला अमानवीय भएको र इजरायलले रेड लाइन पार गरेको भन्दै अप्रत्याशित रुपमा नतिजा भोग्नु पर्ने चेतावनी दिएका थिए । यसअघि पनि इजरायलले हिजबुल्लाहलद्वारा सन्देश आदान-प्रदान गर्ने पेजर विस्फोट गराएको थियो । जसमा २० जनाको मृत्यु भएको थियो भने ३ हजार जना घाइते भएका थिए ।

ह्वाइट हाउसले मध्यपूर्वमा युद्ध थप भड्किने भएपछि आफूहरु चिन्तित रहेको बताएको छ । यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले गाजा युद्ध विराम विथोल्ने प्रयास कुनै पनि पक्षलाई नगर्न चेतावनी दिनुभएको छ । त्यस्तै संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्का सदस्यहरुलाई युद्ध मत्थर पार्न आग्रह गरेको बीबीसीले जनाएको छ । गाजा युद्ध सुरु भएदेखि नै हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण थालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement