हिउँदका लागि पानी जोगाउँदै सिन्धुपाल्चोकको छेकाथोकका बासिन्दा

आश्विन ६, २०८१ |कमला पाख्रिन
हिउँदका लागि पानी जोगाउँदै सिन्धुपाल्चोकको छेकाथोकका बासिन्दा

सिन्धुपाल्चोक । बर्खा याम अब करिब करिब सकिएको छ । मौसमले हाम्रो दिनचर्या पनि फेरिन्छ । मौसमअनुसारका हाम्रा आवश्यकता पनि फेरिन्छन् । 

देशमा केही यस्ता बस्ती छन् जहाँ बर्खा याममा पानी जोगाउने हर सम्भव प्रयास हुन्छ । किनकि हिउँदको समयमा त्यहाँ पानीको अचाक्ली अभाव हुन्छ । सिन्धुपाल्चोकको चौतारास्थित छेकाथोकका दलित बस्तीका बासिन्दा अहिले हिउँदको लागि पानी जम्मा गर्नमा लागेका छन् ।

छेकाथोक सिन्धुपाल्चोकको सदरमुकाम चौताराको दलित बस्ती हो । यहाँका नागरिकलाई हिउँद सुरु हुनुअघि नै पानीको जोहो गर्नुपर्ने बाध्यता छ । घरको छानाबाट बलेँसीमा झर्ने पानी पाइपमार्फत ड्रममा झारेर थापिन्छ । एक हजारदेखि पाँच हजार लिटरसम्मका ड्रम थापेको पानीले हिउँदका महिनाहरू गुजार्न उनीहरू बाध्य छन् । 

यसरी जम्मा गरिएको पानी हिउँदमा कपडा धुन, बस्तुभाउलाई दिन र हिउँदे तरकारीका लागि प्रयोग गर्ने गरेका छन् । एक घर एक धारा सरकारको नीति छ तर सदरमुकामकै बासिन्दा एक गाउँ एक धारामा सीमित बस्नु परेको छ । करिब २० घरपरिवारले अहिलेसम्म एउटै धाराको पानी उपभोग गर्दै आएका छन् । नगरपालिका कार्यालयबाट करिब दुई सय मिटरको दूरीमा रहेको दलित बस्तीका स्थानीयले कन्लामा टेको लगाएको धाराबाट सिङ्गो गाउँ भर पर्नुपरेको अवस्था छ ।

छेकाथोकको खानेपानी समस्या बारे नगरपालिका बेखबर छैन । बस्ती तलको कुवाको पानी संरक्षणका गर्न सके आफूहरूको लागि पानी पुग्ने स्थानीय बताउँछन् । वडाले मानेपहराको कुवाको पानी संरक्षण गर्ने योजना त बनाएको छ । तर त्यो पानीलाई बस्तीसम्म ल्याउन वडाको बजेटले नभ्याउने भएकाले समस्या छ ।

छेकाथोकसँगै जोडिएका सरकारी कार्यालयहरू र अन्य ठाउँबाट बसाइँ सरी आएकाहरूले एक घर एक धारा पाएका छन् । तर छेकाथोकका दलित समुदायका स्थानीयले भने त्यो सुविधाबाट वञ्चित भएर बस्नु परेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement