युरोपेली युनियन–ईयूकी अध्यक्ष उर्सुला भोन डर लेन युक्रेनमा

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपेली युनियन–ईयूकी अध्यक्ष उर्सुला भोन डर लेन युक्रेनमा

काठमाडौं । युरोपेली युनियन-ईयूकी अध्यक्ष उर्सुला भोन डर लेन युक्रेन पुग्नुभएको छ । रुस-युक्रेनबीच जारी युद्धका बीच उहाँ आज युक्रेनको राजधानी किएभ पुग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ईयू अध्यक्ष भोन डेर लेनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तालिका रहेको बताइएको छ । भ्रमणका क्रममा उहाँले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनलाई युरोपको सहयोग, युक्रेनी रक्षा र जी–सेभेन राष्ट्रबाट प्राप्त ऋणको प्रगतिबारे छलफल गर्ने रोयटर्सले उल्लेख गरेको छ ।

युक्रेन आउनुअघि अर्थात् हिजोमात्र भोन डेर लेनले रोक्का गरिएको रूसी सम्पत्तिबाट प्राप्त रकमबाट एक सय ६० मिलियन यूरो यस हिँउदका लागि युक्रेनको अत्यावश्यक मानवीय आवश्यकता पूरा गर्न विनियोजन गरिने बताउनुभएको थियो ।

रुसले युक्रेनको उर्जा पूर्वाधारको करिब ९ गिगावाट नष्ट गरेपछि युरोपेली आयोगले यस्तो निर्णय गरेको बताइएको छ । रुसको रोक्का रकमले युक्रेनलाई आफ्नो पूर्वाधार मर्मत गर्न र थप आवश्यक सामग्री आपूर्तिमा मद्दत पुग्ने भोन डेर लेनले बताउनुभएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले युक्रेनमा बढ्दो बिजुलीको मागबीच यस हिउँदमा ६ गिगावाटको कमीको सामना गर्न सक्ने अनुमान गरेको छ । हालै रुसी आक्रमणबाट युक्रेनका ८० प्रतिशत थर्मल प्लान्ट नष्ट भएका छन् । जसले गर्दा युक्रनेका अधिकांश भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । भोन डर लेनले आफूहरुले युक्रेनमा बिजुली क्षमतालाई पुनर्स्थापित गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement