राष्ट्रपतिमा मदुरोलाई विजयीको मान्यता दिन बाध्य बनाएर हस्ताक्षर गराइयो : भेनेजुएलाका विपक्षी नेता गोन्जालेज

स्वेच्छाले नै हस्ताक्षर गरेको राष्ट्रियसभाका अध्यक्ष जर्ज रोड्रिग्वेजको दाबी
आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिमा मदुरोलाई विजयीको मान्यता दिन बाध्य बनाएर हस्ताक्षर गराइयो : भेनेजुएलाका विपक्षी नेता गोन्जालेज

काठमाडौं । भेनेजुएलाका विपक्षी नेता एडमुन्डो गोन्जालेजले गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा निकोलस मदुरोलाई विजयी भनी मान्यता दिन आफूलाई ‘बाध्य’ बनाएर हस्ताक्षर गर्न लगाएको आरोप लगाउनुभएको छ ।

गोन्जालेजले एक भिडियो सन्देशमार्फत् मदुरोका सहयोगीहरूले आफूलाई राजधानी काराकासस्थित स्पेनी दूतावासमा लुकेका बेला मान्यतापत्रमा हस्ताक्षर गर्न बाध्य पारेको बताउनुभएको हो । मादुरोका सहयोगीहरूले स्पेनी दूतावासभित्रै पत्र ल्याएर हस्ताक्षर गर्न दबाब दिएको र नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि आफू बाध्य भएको उहाँको भनाइ छ ।

यता भेनेजुएलाको राष्ट्रियसभाका अध्यक्ष जर्ज रोड्रिग्वेजले भने गोन्जालेजले स्वेच्छाले पत्रमा हस्ताक्षर गरेको दाबी गर्नुभएको छ ।

मदुरोप्रति वफादार निर्वाचन अधिकारीहरूले उहाँलाई चुनावमा विजयी घोषणा गरेका थिए । जसलाई गोन्जालेज र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका थिएनन् । विपक्षी नेताले मदूरोको जितप्रति विरोध जनाएपछि सरकारले विभिन्न आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेको थियो । त्यस लगत्तै उहाँ स्पेनी दूतावासमा लुकेर बस्नुभएको थियो ।

त्यहीबाट राजनीतिक शरण दिन स्पेनलाई आग्रह गर्नुभएको थियो । उहाँको आग्रहलाई स्पेनले स्वीकार गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement