अरविन्द केजरीवालको राजीनामापछि दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी मार्लेनाको दाबी

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
अरविन्द केजरीवालको राजीनामापछि दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी मार्लेनाको दाबी

काठमाडौं । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज साँझ दिल्लीका उपराज्यपाल विनय सक्सेनासमक्ष राजीनामा बुझाउनु भएको हो । केजरीवालसँगै उहाँको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले समेत राजीनामा दिएका छन् ।

केजरीवालको राजीनामापछि आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले उपराज्यपालसमक्ष आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गर्नु भएको छ । यसअघि आज बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आतिशीलाई चयन गरेको थियो। नयाँ मुख्यमन्त्रीले राज्यपालले तोकेको समयमा शपथ ग्रहण गर्ने र त्यसपछि नयाँ मन्त्रिपरिषद् गठन गर्ने आपले जनाएको छ ।

मुख्यमन्त्री केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नुहुनेछ । यसअघि सुष्मा स्वराज र शीला दीक्षित दिल्लीका मुख्यमन्त्री बनेका थिए । केजरीवालको राजीनामापछि आतिशीले सरकारले सबै निकायलाई केजरीवालविरुद्ध लगाएको उल्लेख गर्दै दिल्लीका नागरिकले केजरीवाललाई पुन: मुख्यमन्त्री बनाउने बताउनुभयो ।

मदिरा नीति घोटालाको आरोपमा जेलमा रहनुभएका केजरीवाल १० लाख धरौटीमा चार दिनअघि तिहाड जेलबाट रिहा हुनुभएको थियो । आइतबार पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । सम्बोधनका क्रममा केजरीवालले जनताले आफूलाई क्लीनचिट नदिएसम्म मुख्यमन्त्री नबन्ने बताउनुभएको थियो । उहाँले समयअगावै अर्थात् नोभेम्बरमै चुनाव गराउनुपर्ने माग समेत गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement