पुटिनको चेतावनी- युक्रेनलाई लामो दूरीको मिसाइल दिए नेटोसँग प्रत्यक्ष युद्धको खतरा

६ बेलायती कूटनीतिज्ञलाई रुसले गर्‍यो निस्कासन
भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुटिनको चेतावनी- युक्रेनलाई लामो दूरीको मिसाइल दिए नेटोसँग प्रत्यक्ष युद्धको खतरा

काठमाडौं । युरोप र पश्चिमा मुलुकहरुले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने विषयमा छलफल चलिरहेकै बेला रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले नेटोसँग रुसको प्रत्यक्ष युद्धको खतरा देखिएको चेतावनी दिनुभएको छ ।

पुटिनले युक्रेनलाई लामो दूरीको मिसाइल दिनुको अर्थ युक्रेन युद्धमा नेटो, अमेरिका र युरोपेली राष्ट्रको प्रत्यक्ष संलग्नता देखिने स्पष्ट पार्नुभएको छ । साथै उनीहरुको प्रत्यक्ष संलग्नताले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई रुसले परिवर्तन गर्नेसमेत उहाँले चेतावनी दिनु भएको छ । पश्चिमाले अनुमति दिए रुसको सार्वभौमिकतामाथि देखिने खतराको आधारमा आफूहरुले नयाँ निर्णय लिने समेत पुटिनले स्पष्ट पार्नुभएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसको भित्रि भागसम्म मार हान्न सक्ने लामो दुरीको मिसाइल दिन र प्रयोग गर्न पश्चिमा राष्ट्रहरुसँग अनुमति माग्दै आउनु भएको छ । हालै अमेरिकी र बेलायतले युक्रेनलाई त्यस्तो मिसाइल प्रयोग गर्न अनुमति दिने संकेत गरेपछि रुसी राष्ट्रपतिले यस्तो चेतावनी दिएको हो ।

यसैबीच, मस्कोले छ जना बेलायती कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता समेत रद्द गरिदिएको छ। रुसको गुप्तचर एजेन्सी एफएसबीले बेलायती कूटनीतिज्ञहरूको गतिविधि देशको सुरक्षाका लागि खतरा भएका कारण मान्यता रद्द गरिएको जनाएको हो ।

अर्कोतर्फ वाशिंगटन पुग्नुभएका बेलायती प्रधानमन्त्री कियर स्टारमरले युद्ध रुसले सुरु गरेको र यसलाई रुसले नै तत्काल रोक्न सक्ने बताउनुभएको छ । उहाँले आज अमेरिकी राष्ट्रपति जो बाइडनसँग युक्रेनलाई लामो दूरीको मिसाइल दिनेबारे छलफल गर्ने बताइएको छ । बाइडनले लामो दूरीको मिसाइल प्रयोगलाई अनुमति दिने न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement