सार्कलाई पुनर्जीवित गर्न पहल गर्ने बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसको भनाइ

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सार्कलाई पुनर्जीवित गर्न पहल गर्ने बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसको भनाइ

काठमाडौं । बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसले दक्षिण एसियामा क्षेत्रीय सहयोग अभिवृद्धि गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन-सार्कलाई पुनर्जीवित गर्न आफूले पहल गरिरहेको बताउनुभएको छ ।

राष्ट्रको नाम सम्बोधन गर्दै उहाँले आफू सार्क ब्यूँताउन पहल गरिरहेको बताउनुभएको हो ।

सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका समावेश छन् । सार्कको अध्यक्षता अहिले नेपालले गरिरहेको छ । पाकिस्तान र भारतबीचको तिक्तताका कारण सार्क निष्क्रिय छ । यसलाई पुनः ब्युताउने पहल गरिरहेको युनुसले स्पष्ट पार्नुभएको छ ।

साथै उहाँले निष्पक्ष र समानतामा आधारित भारत र अन्य छिमेकी देशहरूसँग राम्रो सम्बन्ध चाहेको समेत बताउनुभयो । युनुसले बाढीको सामना गर्न बंगलादेशले भारतसँग उच्चस्तरीय द्विपक्षीय सहयोग वार्ता सुरु गरेको जानकारी दिनुभएको छ । विश्वले बंगलादेशलाई सम्मानजनक लोकतन्त्रको रूपमा पहिचान गरोस् भन्ने समेत आफूले चाहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

यसैबीच बंगलादेशमा निर्वाचन प्रणाली, प्रहरी प्रशासन, न्यायपालिका, संविधानलगायत ६ वटा प्रमुख क्षेत्रमा सुधारका लागि अन्तरिम सरकारले ६ आयोग गठन गरेको उहाँको भनाइ छ । आयोगले अक्टोबर १ तारिखदेखि काम थाल्ने र आगामी तीन महिनाभित्र काम सम्पन्न गर्ने अपेक्षा गरिएको युनुसले स्पष्ट पार्नुभएको छ ।

उहाँले सबैका लागि समान अधिकार सुनिश्चित गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.