काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ ।
नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा यचुरीको ७२ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित यचुरीले एम्सको आईसीयूमा उपचार गराइरहनुभएको थियो । १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता मानिनु हुन्छ । उहाँ सन् २०१५ देखि कम्युनिस्ट पार्टीका महासचिव हुनुहुन्थ्यो ।
उहाँले विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासंघ (एसएफआई)का प्रभावशाली नेता हुनुहुन्थ्यो ।
नेपालमा असल मित्र मानिने उहाँ इन्दिरा गान्धी शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको संकटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील हुनुहुन्थ्यो ।
यचुरी २००५ अगस्ट १९ देखि २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाका सदस्य रहनु भएको थियो ।