काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डनल्ड ट्रम्पले अवैध तरिकाबाट अमेरिका प्रवेश गरी बसिरहेका आप्रवासीलाई उनीहरुकै देश फिर्ता गराउनुपर्ने बताउनुभएको छ । आफू राष्ट्रपतिमा पुनः निर्वाचित भए अवैधरुपमा अमेरिकामा बसिरहेकाहरुलाई फिर्ता गराउने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।
सामाजिक सञ्जाल 'एक्स'मा एलन मस्कसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले अमेरिकी इतिहासमै पहिलो पटक लाखौं अवैध आप्रवासीलाई फिर्ता गराउनुपर्ने बताउनुभएको हो । ट्रम्पको अभिव्यक्ति अमेरिकामा अध्यागमन नीतिहरूमा चलिरहेको बहसको बीचमा आएको हो ।
अमेरिकी राष्ट्रपति चुनाव आगामी नोभेम्बर ५ मा हुँदैछ । यो चुनावमा रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीले आप्रवासनलाई मुख्य एजेन्डा बनाएका छन् । तर, आज ट्रम्पले दिएको अन्तर्वार्तामा अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका लाखौंलाई हटाउने आफ्नो लक्ष्य रहेको बताएपछि यसले नयाँ तरंग ल्याएको छ ।
ट्रम्पले अवैध आप्रवासीलाई 'कट्टरपन्थी' र 'आतंकवादी' को संज्ञासमेत दिनुभएको छ । तिनीहरूलाई अमेरिकाबाट छिटो हटाउने वाचा गर्दै उहाँले आगामी नोभेम्बरको निर्वाचन निष्पक्ष हुनेमा आशावादी रहेको बताउनुभएको छ । उहाँले अमेरिकामा आप्रवासी नीतिको व्यवस्थालाई पुनर्स्थापित गर्न र अध्यागमन कानुनलाई हदसम्म लागु गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताउनुभयो ।